बर्दिया– बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बगनाहा बजारमा नक्कली सरकारी कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका–३ मा रहेको एक घरमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग, ठाकुरबाबा न.पा.–३, बर्दिया, टिकापुर, लम्की’ नामबाट कार्यालय सञ्चालन गरिएको थियो । उक्त कार्यालयमार्फत विभिन्न व्यक्तिलाई सरकारी कर्मचारीमा नियुक्ति गरिदिने, काममा लगाइदिने तथा मजदुरी गराउने नाममा ठगी गरिएको आरोप छ ।

अनुसन्धानका क्रममा कार्यालय सञ्चालकले स्थानीय व्यक्तिहरूलाई कर्मचारीका रूपमा नियुक्ति दिएको, विभिन्न मजदुरी काममा लगाएको तर ज्याला भुक्तानी नगरेको खुलेको प्रहरीले जनाएको छ । साथै कार्यालय सञ्चालन गरिएको घरका धनीलाई घरको तल्ला थप्न लगाई निर्माण कार्य गराए पनि रकम भुक्तानी नगरेको आरोप समेत लागेको छ ।

सम्बन्धित घरधनीबाट जाहेरी दरखास्त प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा आरोपितले आफैं सरकारी कागजात तथा छाप तयार गरी हस्ताक्षर र नियुक्तिपत्रमा प्रयोग गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।

यस प्रकरणमा प्रहरीले जेठ २० गते ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका–५ निवासी अन्दाजी २३ वर्षीया कृपा चौधरीलाई पक्राउ गरेको छ ।

उनीहरूमाथि ठगी तथा लिखत सम्बन्धी कसुर (कीर्ते) अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया