अर्जुन काफ्ले
स्याङ्जा, जेठ २८ गते ।
चापाकोट नगरपालिकामा सडक निर्माणका लागि बालुवा बोकेर जाँदै गरेको टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

चापाकोट नगरपालिका–४ पुम्दीमा मल्याङकोटबाट घुर्लीचौरतर्फ जाँदै गरेको ग १ क ४४४६ नम्बरको टिप्पर उकालो सडकमा चिप्लिएर एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

दुर्घटनामा टिप्परमा सवार म्याग्दीको मालिका गाउँपालिका–५ निवासी २३ वर्षीय तिलक परियारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते परियारको गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो ।

त्यस्तै सोही ठाउँका १८ वर्षीय करण परियारको हात र खुट्टामा चोट लागेको छ भने अवस्था सामान्य रहेको र स्वास्थ्य केन्द्रमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि टिप्पर चालक दाङको शान्तिनगर गाउँपालिका–१ निवासी २६ वर्षीय रेशमबहादुर गिरी घटनास्थलबाट फरार भएको र खोजी कार्य जारी रहेको अवस्थीले बताउनुभयो ।

दुर्घटनामा परेको टिप्पर मल्याङकोट–घर्लीचौर सडक निर्माणका लागि बालुवा ढुवानी गर्दै गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

तपाईको प्रतिक्रिया