ताप्लेजुङ। फुङलिङ नगरपालिकाले मेची राजमार्गको सडक सीमाभित्र पर्ने संरचना हटाउन जारी गरिएको ३५ दिने सूचनाप्रति नेपाल सरकारसँग पुनर्विचारको आग्रह गरेको छ। नगर कार्यपालिकाको गत जेठ २२ गते बसेको बैठकले उक्त सूचनाका कारण नगरवासीको जनजीवनमा गम्भीर असर पर्ने निष्कर्ष निकाल्दै नेपाल सरकारसँग पुनर्विचारको आग्रह गर्ने निर्णय गरेको हो।
सडक डिभिजन कार्यालय इलामले जेठ १३ गते मेची राजमार्गको दायाँबायाँ १५–१५ मिटरभित्र पर्ने संरचनाहरू हटाउन ३५ दिने सूचना जारी गरेको थियो। तर ,नगरपालिकाले विगतमा सरकारी निकायबाट प्रभावकारी नियमन हुन नसक्दा राजमार्ग आसपासका क्षेत्रमा घर निर्माण गरी लामो समयदेखि बसोबास तथा व्यापार–व्यवसाय सञ्चालन गर्दै आएका नागरिकहरू अहिले अन्योल र त्रासमा परेको जनाएको छ।
नगरपालिकाका अनुसार छोटो अवधिको सूचनाले सयौँ परिवार घरबारविहीन हुने जोखिम बढेको छ भने स्थानीय व्यवसायसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ। फुङलिङ नगरपालिकाले राजमार्ग विस्तारको विषयलाई स्थानीय भौगोलिक, भौगर्भिक तथा धरातलीय अवस्थासँग जोडेर हेर्नुपर्ने आवश्यकता औंल्याएको छ।
नगरपालिकाले तमोर करिडोर सडक पनि फुङलिङ नगरपालिका–१ र २ हुँदै ओलाङचुङगोला जोड्ने गरी निर्माणाधीन रहेको उल्लेख गर्दै हालको अवस्थामा फुङलिङ बजार क्षेत्रमा तत्काल ३० मिटर चौडाइको सडक आवश्यक नरहेको धारणा राखेको छ।
नगरपालिकाका मेयर अमिर मादेनका अनुसार नगर कार्यपालिकाले जारी सूचनालाई तत्काल स्थगन गर्न तथा मेची राजमार्गको दायाँ ७.५ मिटर र बायाँ ७.५ मिटर गरी कुल १५ मिटर सडक सीमा कायम गर्ने विषयमा पुनर्विचार गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ।
नगरपालिकाले स्थानीय बासिन्दाको हित, बजारको अस्तित्व तथा क्षेत्रको विशेष भौगोलिक अवस्थालाई ध्यानमा राखी दीर्घकालीन समाधान खोज्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।







