विराटनगर । विराटनगर – ५ स्थित एभरेष्ट स्कुलले कक्षा ११ का विद्यार्थीका लागि आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । स्कुलको सभाहलमा आयोजित कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई उत्प्रेरक डा. ताराप्रसाद गिरीले विभिन्न प्रसङ्ग र उदाहरण प्रस्तुत गर्दै भविष्य उज्वल बनाउन खेल्नुपर्ने भूमिकाका विषयमा अवगत गराउनुभएको थियो । उहाँले कक्षा ११ र १२ भनेको उच्च शिक्षाका लागि एउटा महत्वपूर्ण खुट्किलो रहेको भन्दै यी दुई वर्षमा गर्ने मेहनतले भविष्यको आकार कस्तो बन्ने भन्ने तय हुने बताउनुभयो । उहाँले लक्ष्यसहितको संकल्प लिएर अघि बढ्दा हरेक व्यक्ति सफल हुने भन्दै त्यसका लागि आइपर्ने विभिन्न अड्चनहरूलाई सामना गर्दै अघि बढ्न प्रेरित गर्नुभयो । विश्वका सफल व्यक्तिहरुको उदाहरण प्रस्तुत गर्दै उहाँले लक्ष्यसहित दृढ संकल्प लिनेहरु सफल बन्ने गरेको बताउनुभयो । विद्यार्थी केवल एक व्यक्ति मात्र नभई परिवारको सपना र देशको भविष्य समेत रहेको चर्चा गर्दै उहाँले आफूलाई कस्तो बनाउने भन्ने विषयमा विद्यार्थी आफै सचेत हुनुपर्ने बताउनुभयो । एभरेष्ट स्कुलले दिने वातावरणको सहि सदुपयोग गर्न सक्दा मात्रै पनि विद्यार्थीको भविष्य उज्वल हुने तर्क गर्दै डा. गिरीले हरेक अभिभावक र शिक्षकले विद्यार्थीको भलो मात्रै चाहने भएकाले विद्यार्थीले पनि त्यस्तै बन्नुपर्ने बताउनुभयो । विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्टले विद्यार्थीको सर्वाङ्गीण विकासका निम्ति वातावरण बनाइदिएको भन्दै उहाँले कुनै कुराको अभाव भए तत्काल भन्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘तपाईंहरुको शैक्षिक विकासका निम्ति केहि थप गर्नुपर्ने भए मलाई भन्नुहोस्, हामी त्यो गर्छौ । यस्तै उहाँले एभरेष्टका विद्यार्थीहरु यहाँको नियममा बसेर पढ्नुपर्ने समेत बताउनुभयो ।
विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले कक्षा–११ र १२ ले विश्वविद्यालयको शिक्षा कस्तो बनाउने भन्ने तय गर्ने भएकाले सोहि अनुसार विद्यार्थीले मेहनत गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा एभरेष्ट कलेजका को अर्डिनेटर भुवन गौतमले कलेजमा पालना गर्नुपर्ने अनुशासन, कलेजमा गर्न नपाइने विषय र कलेजमा उपलब्ध सुविधालगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । विज्ञान, कम्प्यूटर विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ र १२ को अध्यापन हुने एभरेष्टले यहि शैक्षिक सत्रदेखि बीआईटीको समेत अध्यापन शुरु गर्दैछ ।
कक्षा–११ का विद्यार्थीलाई एभरेष्टको अभिमुखीकरण







