विराटनगर — विराटनगर विमानस्थल परिसरभित्र सञ्चालित पसल तथा क्यान्टिनहरूले उपभोक्तासँग अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा अत्यधिक रकम असुलेको भेटिएपछि प्रशासनले कारबाही गरेको छ। छड्के अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको पुष्टि भएपछि चार व्यवसायीलाई कुल १२ लाख रुपैयाँ जरिवाना गरिएको हो।

जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा मंगलबार गरिएको बजार अनुगमनका क्रममा विमानस्थलभित्र रहेका विभिन्न व्यवसायिक प्रतिष्ठानहरूले एमआरपीभन्दा दोब्बरसम्म मूल्य लिएर वस्तु बिक्री गरिरहेको पाइएको थियो।

अनुगमन टोलीका अनुसार बोर्डिङ कक्षमा सञ्चालित ममता होटलले १ सय रुपैयाँ मूल्य अंकित डेरी मिल्क चकलेट २ सय रुपैयाँमा बिक्री गरेको भेटिएको छ। त्यस्तै, एयरपोर्ट क्यान्टिन कक्षमा रहेको ग्यालेक्सी क्याफे एण्ड होटल प्रालिले ५० रुपैयाँ पर्ने कोकाकोला १ सय ६० रुपैयाँमा बिक्री गरिरहेको पाइएको थियो।

यस्तै, गरिमा क्याफेले ५० रुपैयाँ मूल्यको कोकाकोला ८० रुपैयाँमा बिक्री गरेको तथा अनुकूल होटल एन्ड भान्साघरले ८ रुपैयाँ मूल्यको चकलेट १७ रुपैयाँ ६९ पैसामा बिक्री गरेको तथ्य अनुगमनका क्रममा खुलेको प्रशासनले जनाएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत एमआरपीभन्दा बढी मूल्यमा वस्तु बिक्री गरी उपभोक्तालाई ठगी गरेको निष्कर्ष निकाल्दै प्रशासनले चारै व्यवसायीलाई कारबाही गरेको हो। प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार ऐनको दफा ३८ को खण्ड (ङ) अन्तर्गत कसुर ठहर गर्दै दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम प्रत्येक व्यवसायीलाई ३–३ लाख रुपैयाँका दरले जरिवाना गरिएको छ।

कारबाहीस्वरूप चार व्यवसायीबाट कुल १२ लाख रुपैयाँ राजस्व संकलन भएको प्रशासनले जनाएको छ। प्रशासनले आगामी दिनमा पनि उपभोक्ता अधिकार संरक्षणका लागि यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया