पथरीशनिश्चरे। मोरङको पथरीशनिश्चरे–२ मा शनिबार प्रथम मेयरकप जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन प्रसाद तुम्वापोले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। प्रतियोगितामा मिन डोजो, रंगेली डोजो, पथरी कराँते एकेडेमी फडानी डोजो, कञ्चनबारी डोजो, नोबेल डोजो, च्याम्पियन्स कराँते एकेडेमी, बेलबारी कराँते एकेडेमीलगायत विभिन्न डोजोका गरी २६० खेलाडीको सहभागिता रहेको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर तुम्वापोले वर्तमान समाजमा बढ्दो मोबाइलको लतबाट युवापुस्तालाई जोगाउन खेलकुद महत्वपूर्ण माध्यम भएको बताए।

 

उनले पथरीशनिश्चरेमा खेलकुदको स्वतन्त्र र व्यवस्थित विकासका लागि नगरपालिकाले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै कराँते खेलले उल्लेखनीय उपलब्धि हासिल गरेको बताए। उनले उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगितालाई ‘मेयरकप’ नाम दिइएको जानकारी गराउँदै खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले आवश्यक बजेटको व्यवस्था गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

 

कार्यक्रममा नेपाल सितोरियो कराँते संघ मोरङका अध्यक्ष चन्द्रबहादुर पराजुलीले पथरीशनिश्चरेमा २०४४ सालदेखि नियमित रूपमा कराँते प्रशिक्षण सञ्चालन हुँदै आएको जानकारी दिए। उनले यहाँका खेलाडीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सफल भएको उल्लेख गर्दै कराँतेको विकासमा स्थानीय तहको सहयोग महत्वपूर्ण रहेको बताए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बेलबारी कराँते एकेडेमी प्रथम स्थान हासिल गर्न सफल भयो। यस्तै, पथरी कराँते एकेडेमी दोस्रो तथा च्याम्पियन्स कराँते एकेडेमी तेस्रो स्थानमा रहे। कार्यक्रममा सभापति सुरेन्द्र तुम्वापो, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख बिरदत्त पन्त, वरिष्ठ कराँते प्रशिक्षक कुन्ती गुरुङलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया