जनकपुरधाम। नेपाली आतिथ्य सेवा क्षेत्रमा स्थापित राष्ट्रिय ब्रान्ड होटल पौवाले आफ्नो १९औँ शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ। ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ नारा आत्मसात गर्दै होटल पौवाले मिथिला सभ्यता, संस्कृति तथा धार्मिक आस्थाको केन्द्र जनकपुरधाममा आफ्नो सेवा विस्तार गरेको हो।
होटलको औपचारिक उद्घाटन आगामी जेठ २२ गते हुने तय गरिएको छ। उद्घाटन अवसरमा होटल पौवाले तीनदिने ‘बृहत् खाना प्रवर्द्धन कार्यक्रम’ आयोजना गर्ने जनाएको छ । कार्यक्रममा पौवाका विभिन्न शाखामा कार्यरत अनुभवी सेफले तयार गरेका नेपाली तथा अन्तर्राष्ट्रिय परिकारको विशेष प्रदर्शनी गरिनेछ।
होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जनकपुरधाममा चारतारे स्तरको होटल सञ्चालनमा आउनु कम्पनीको विस्तार यात्राको अर्को महत्वपूर्ण उपलब्धि भएको बताए। उनले धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिले महत्वपूर्ण जनकपुरधाममा होटलको उपस्थितिले धार्मिक पर्यटन, आन्तरिक पर्यटन, रोजगारी र समग्र आतिथ्य उद्योगको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
होटलमा विभिन्न सुविधासहित ६२ वटा अतिथि कक्ष रहेका छन्। साथै स्विमिङ पुल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सेमिनार हल, रेस्टुरेन्ट, जिम, साउना, स्टिम तथा स्पालगायत चारतारेस्तरका आवश्यक पूर्वाधार सञ्चालनमा आइसकेका छन्। होटलले नेपाली स्वाद, नेपाली संस्कार र अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा २४सै घन्टा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।
होटल पौवाले चुनौतीपूर्ण आर्थिक तथा लगानी वातावरणका बीच पनि देशव्यापी रूपमा आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ। रुपन्देहीबाट सुरु भएको यात्रा आज जनकपुरधामसम्म आइपुग्दा पौवा नेपाली आतिथ्य उद्योगको स्थापित राष्ट्रिय ब्राण्डका रूपमा विकास भएको अध्यक्ष भण्डारीले बताए।
हाल होटल पौवाका शाखा भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, धनगढी, पोखरा, काठमाडौं, भरतपुर, मुग्लिन, कालिञ्चोकलगायत विभिन्न स्थानमा सञ्चालनमा छन्। साथै नेपालगञ्जमा पाँचतारे होटल तथा पाल्पाको चौकीडाँडामा लक्जरी रिसोर्ट ‘पौवा वनवास’ निर्माणाधीन अवस्थामा रहेका छन्। गत वैशाखदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि चारतारेस्तरको होटल सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्दै आएको होटल पौवा सामूहिक लगानीको अवधारणामा सञ्चालन भइरहेको संस्था हो। कर्मचारीलाई समेत लगानीकर्ता बन्ने अवसर प्रदान गर्दै कम्पनीले “साझा स्वामित्व, साझा सफलता” को अवधारणालाई व्यवहारमा उतारेको जनाएको छ।
अध्यक्ष भण्डारीका अनुसार जनकपुरधाम, लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथ तथा अन्य धार्मिक एवं सांस्कृतिक गन्तव्यलाई जोड्ने यात्रामा होटल पौवा नेपाली तथा भारतीय पर्यटकका लागि विश्वसनीय आतिथ्य साझेदारका रूपमा स्थापित हुँदै गएको छ।
एकीकृत ब्रान्डअन्तर्गत गुणस्तरीयता, स्वच्छता र सेवा मापदण्ड कायम राख्दै पाहुनालाई सुरक्षित, सहज, आत्मीय तथा अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढिरहेको छ। नेपाली स्वादलाई विश्वस्तरमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यसहित होटल पौवाले आगामी दशकमा ‘मिसन १००’ अन्तर्गत देश तथा विदेशमा आफ्नो उपस्थिति थप विस्तार गर्ने रणनीति अघि सारेको जनाएको छ।







