उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–११ पिपलचोकस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले होटल ड्रिमलेण्डको तेस्रो तलामा छापा मार्दा उनीहरू जुवातास खेलिरहेको अवस्थामा फेला परेका हुन्। प्रहरीले जुवाखालबाट नगद ५७ हजार ६२५ रुपैयाँ, तीन बुङ तास, ६ थान मोबाइल फोन तथा चार थान मोटरसाइकल बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेहरूमा त्रियुगा नगरपालिका क्षेत्रकै ४७ वर्षीय भलराज राई, ४५ वर्षीय चितबहादुर राई, ४६ वर्षीय बोधबहादुर थापा मगर, ३८ वर्षीय विजय राई, ३० वर्षीय संजीव बुढाथोकी र ४९ वर्षीय पूर्णबहादुर राई रहेका छन्।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा होटलमा पुगेको टोलीले उनीहरूलाई तास खेलिरहेकै अवस्थामा नियन्त्रणमा लिएको हो। जुवाखालबाट बरामद भएका नगद तथा अन्य सामग्री प्रहरीले मुचुल्का गरी नियन्त्रणमा लिएको छ।

नेपालको प्रचलित कानुनअनुसार जुवातास खेल्नु तथा खेलाउनुलाई कसुर मानिएको छ। यस्ता गतिविधिले सामाजिक तथा आर्थिक विकृति निम्त्याउने भएकाले प्रहरीले नियमित रूपमा निगरानी तथा कारबाहीलाई तीव्रता दिँदै आएको जनाएको छ।
\
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखिएको छ। उनीहरूमाथि जुवा सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया