उर्लाबारी । विद्यार्थीहरूलाई अध्ययनसँगै रोजगारी र उद्यमशीलताका अवसरसँग जोड्ने उद्देश्यसहित उर्लाबारी बहुमुखी क्याम्पसले ‘उद्योग–क्याम्पस संवाद मञ्च’ गठन गरेको छ। क्याम्पसको रोजगार प्रवर्धन, विद्यार्थी परामर्श तथा गुनासो सुनुवाइ उपसमितिको पहलमा आयोजित भेलाले ११ सदस्यीय मञ्च गठन गरेको हो।
क्याम्पसले स्थापना कालदेखि नै गुणस्तरीय तथा व्यावहारिक शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको उल्लेख गर्दै अब विद्यार्थीलाई श्रमबजारको मागअनुसार सक्षम, प्रतिस्पर्धी र रोजगारमुखी बनाउन उद्योग तथा शैक्षिक क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको जनाएको छ। मञ्चमार्फत शिक्षा र उद्योग–व्यवसाय क्षेत्रबीचको दूरी घटाउँदै बजारको आवश्यकता, आवश्यक सीप तथा रोजगारीका सम्भावनाबारे नियमित संवाद र सहकार्य गरिने जनाएको छ।
कार्यक्रमका विशिष्ट अतिथि तथा पूर्व विद्यार्थी मञ्चका संस्थापक अध्यक्ष एवं उद्योगपति भोलेश्वर दुलालले दक्ष जनशक्ति उत्पादन गर्न सके युवाहरू विदेशिनुपर्ने बाध्यता कम हुने बताए। उनले व्यवहारिक ज्ञान र सीपमूलक शिक्षामा जोड दिँदै कार्यक्रम व्यवस्थापन, कार्यक्षमता अभिवृद्धि तथा आफ्नो पेशा र कामप्रति गर्व गर्नुपर्ने धारणा राखे। सरकारले ल्याएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन भए सकारात्मक परिणाम प्राप्त हुने उनको भनाइ थियो।
कार्यक्रमकी प्रमुख अतिथि तथा मीना खतिवडाले उर्लाबारी बहुमुखी क्याम्पसलाई शैक्षिक हबका रूपमा विकास गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताइन्। उनले दक्ष जनशक्ति उत्पादनमा सरोकारवाला निकायहरू एकजुट हुनुपर्नेमा जोड दिइन्।
भेलामा सहभागी स्थानीय व्यवसायीहरू सचिन शाक्य, निरु चौहान, बोधराज खतिवडा, राजीव खड्का, मुकुन्द न्यौपानेलगायतले रोजगारीका अवसर भए पनि दक्ष जनशक्ति अभाव रहेको गुनासो गर्दै शिक्षा र उद्योग क्षेत्रबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेको सुझाव दिएका थिए।
क्याम्पस प्रमुख खेमराज कार्कीले क्याम्पस सञ्चालक समितिको अभिभावकत्व, मार्गदर्शन र सरोकारवालाहरूको सक्रिय सहभागिताबिना यस्तो प्रयास सफल हुन नसक्ने बताउँदै सबै पक्षलाई साथ दिन आग्रह गरे।
भेलाले ध्रुवचन्द्र पराजुलीको अध्यक्षतामा ११ सदस्यीय ‘उद्योग–क्याम्पस संवाद मञ्च’ गठन गरेको छ। मञ्चको सहसंयोजकमा निरु चौहान, सदस्य सचिवमा अम्बिका गौतम तथा सदस्यहरूमा राजीव खड्का, बोधराज खतिवडा, मनोज लुइँटेल, निर्मला गौतम, मनोरथ भण्डारी, रामु तिवारी र ईश्वरी खड्का लगायत चयन भएका छन्।
गुणस्तर सुनिश्चितताको महत्वपूर्ण मापदण्ड मानिने QAA प्राप्तिको अन्तिम प्रक्रिया पूरा गरिसकेको क्याम्पसले विद्यार्थी केन्द्रित तथा रोजगारमुखी कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ। क्याम्पसको यो पहलले विद्यार्थीहरूलाई अध्ययनसँगै रोजगारी तथा उद्यमशीलताका अवसरसँग जोड्न महत्वपूर्ण योगदान पुग्ने बताइएको छ।
कार्यक्रम सञ्चालन सहायक प्राध्यापक शिव प्रसाद भट्टराईले गरेका थिए।

तपाईको प्रतिक्रिया