सोलुखुम्बु, जेठ १८ । नेचासल्यान गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो १० महिनामा ६४ लाखभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ। गाउँपालिकाका अनुसार साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा कुल ६४ लाख २९ हजार ८८ रुपैयाँ राजस्व संकलन भएको हो।

गाउँपालिकाका अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व यातायात क्षेत्रबाट संकलन भएको छ। उक्त शीर्षकअन्तर्गत १३ लाख ३४ हजार ९३४ रुपैयाँ राजस्व उठेको छ। त्यस्तै, अन्य सेवा शुल्क तथा बिक्रीबाट ८ लाख १३ हजार १२५ रुपैयाँ, भूमिकर तथा मालपोतबाट ६ लाख ८४ हजार ८४८ रुपैयाँ ४५ पैसा तथा दहत्तर–बहत्तर शुल्कबाट ६ लाख ५० हजार २४२ रुपैयाँ ७४ पैसा संकलन भएको छ।

यसैगरी अन्य कर शीर्षकबाट ४ लाख ९६ हजार ३४० रुपैयाँ, सिफारिस दस्तुरबाट ३ लाख २८ हजार ५५ रुपैयाँ, व्यवसाय करबाट ३ लाख २२ हजार १२५ रुपैयाँ तथा अन्य प्रशासनिक सेवा शुल्कबाट ३ लाख ५ हजार ३०३ रुपैयाँ राजस्व प्राप्त भएको गाउँपालिकाले जनाएको छ।

प्रशासनिक दण्ड, जरिवाना तथा जफतबाट २ लाख ६७ हजार ८४५ रुपैयाँ, बहाल करबाट १ लाख ९२ हजार ७७० रुपैयाँ, मनोरञ्जन करबाट १ लाख ७४ हजार ३५० रुपैयाँ तथा व्यक्तिगत घटना दर्ता दस्तुरबाट १ लाख ६६ हजार १०० रुपैयाँ संकलन भएको छ। कृषिजन्य तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने करबाट ४० हजार ९२० रुपैयाँ राजस्व बाँडफाँट भएको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, व्यवसाय बाहेक अन्यले भुक्तानी गर्ने करबाट ३२ हजार ५०० रुपैयाँ, परीक्षा शुल्कबाट २९ हजार १०० रुपैयाँ, नक्सापास दस्तुरबाट २८ हजार ४५८ रुपैयाँ, सम्पत्ति करबाट ३ हजार ९०० रुपैयाँ, अन्य दस्तुरबाट ३ हजार ३०० रुपैयाँ, न्यायिक दस्तुरबाट २ हजार ७०० रुपैयाँ, विज्ञापन करबाट १ हजार ७२५ रुपैयाँ तथा व्यवसाय दर्ता करबाट १ हजार रुपैयाँ संकलन भएको छ। बेरुजु शीर्षकमा भने ५ लाख ४९ हजार ४४७ रुपैयाँ प्राप्त भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा ६० लाख २४ हजार ४७४ रुपैयाँ ६२ पैसा राजस्व संकलन भएको थियो। चालु आर्थिक वर्षमा भने उक्त रकमभन्दा ४ लाख ४ हजार ६१३ रुपैयाँ ५७ पैसाले बढी राजस्व संकलन भएको देखिएको छ।

गत वर्ष भूमिकर तथा मालपोतबाट ११ लाख २० हजार २५ रुपैयाँ ८४ पैसा तथा दहत्तर–बहत्तर शुल्कबाट ११ लाख ५९ हजार ५४९ रुपैयाँ ४५ पैसा संकलन भएकोमा यस वर्ष ती शीर्षकमा केही कमी आएको छ। तर, गत वर्ष ५ लाख ६९ हजार ८० रुपैयाँ मात्र उठेको यातायात क्षेत्रको आम्दानी यस वर्ष उल्लेखनीय रूपमा बढेर १३ लाख ३४ हजार ९३४ रुपैयाँ पुगेको छ।

त्यस्तै, गत वर्षको तुलनामा यस वर्ष मनोरञ्जन कर, विज्ञापन कर तथा नक्सापास दस्तुर जस्ता नयाँ शीर्षकबाट समेत राजस्व संकलन भएको देखिएको छ। यसले गाउँपालिकाको आन्तरिक आय वृद्धि गर्न सकारात्मक योगदान पुगेको स्थानीय तहले जनाएको छ।

तपाईको प्रतिक्रिया