काठमाडौँ – सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक हेरफेर गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै जीर्ण बनेको स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक सुधार गर्ने बताएका हुन्।
उनले त्यसका लागि एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाउने जनाए।
वाग्लेले भने, ‘स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी ३ वर्षमा ९० प्रतिशत नेपाली स्वास्थ्य बीमाको दायरामा आउने र व्यक्तिगत उपचारमा हुने खर्च कटौती हुने अपेक्षा राखेका छौँ। राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सडक दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्नेछौँ।’
अर्थमन्त्रीले ५ वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट २४सै घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्ने जनाए। ३ वर्षभित्र ६५ प्रतिशत र ५ वर्षभित्र शत प्रतिशत नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध बताए।
अर्थमन्त्रीले काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगलाई गाभी एउटै संरचना बनाउने घोषणा गरे।







