काठमाडौँ। सरकारले अर्थतन्त्रका प्रमुख उत्पादनशील क्षेत्रहरूमा लगानी प्रोत्साहन गर्न दीर्घकालीन रूपमा स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्ने नीतिगत व्यवस्था गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्।
बजेट वक्तव्यअनुसार विशेष गरी कृषि, उद्योग, पर्यटन र जलविद्युत क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर पटक–पटक उतारचढाव नहुने गरी स्थिर राखिनेछ। ब्याजदरको अस्थिरताका कारण यी क्षेत्रका ठूला परियोजनाहरू वित्तीय संकटमा पर्ने जोखिमलाई न्यूनीकरण गर्न यस्तो नीतिगत सुधार गर्न लागिएको हो।
अर्थमन्त्री डा. वाग्लेले यी उत्पादनशील क्षेत्रमा दीर्घकालीन पुँजी परिचालन गर्न र लगानीकर्तालाई ढुक्कसँग व्यवसाय विस्तार गर्ने वातावरण बनाउन स्थिर ब्याजदरको अवधारणा ल्याइएको बताए।







