झापा, जेठ १३ । कमल गाउँपालिका को आयोजनामा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशन समितिको अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।

गोष्ठीमार्फत पोषण सुधार, खाद्य सुरक्षाको अवस्था, बालबालिका तथा आमाको स्वास्थ्य संरक्षण, साथै बहुक्षेत्रीय समन्वयमार्फत समुदायस्तरमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने विषयमा विस्तृत छलफल गरिएको गाउँपालिका अध्यक्ष हुकुम सिंह राई ले जानकारी दिनुभयो।

कार्यक्रममा स्वास्थ्य, कृषि, शिक्षा लगायत विभिन्न शाखाका प्रतिनिधि, समितिका पदाधिकारी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। स्थानीय तहमा पोषणमैत्री योजना निर्माण, कुपोषण न्यूनीकरण, सुरक्षित खाद्य प्रणाली विकास तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने विषयमा विशेष जोड दिइएको जनाइएको छ।

गाउँपालिकाले “पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन” गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ। कार्यक्रममा सहभागीहरूले स्थानीय आवश्यकताअनुसार कार्ययोजना तयार गर्दै प्रभावकारी कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गरेका थिए।

यसैक्रममा जेठ ९ गते पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशन समितिका पदाधिकारी तथा सरोकारवालाहरूलाई लक्षित गरी अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरिएको थियो। त्यस्तै, जेठ १० गते स्वास्थ्य संस्था प्रमुख तथा पोषण फोकल पर्सनहरूसँग समेत अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

स्थानीय तहमा पोषण तथा खाद्य सुरक्षासम्बन्धी नीति, योजना तथा कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको अध्यक्ष राईले बताउनुभयो।

तपाईको प्रतिक्रिया