पर्सा प्रहरीले हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान पूरा गरी सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ। जेठ ४ गते वीरगन्जको दियालो होटलबाट पक्राउ परेका प्रसाईंविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउन सुझाव दिएको छ।
विभिन्न युट्युब च्यानलमा महिलाहरूमाथि अपशब्द प्रयोग गरेको तथा सेना र प्रहरी जस्ता राज्यका निकायलाई होच्याएर अश्लील टिप्पणी गरेको आरोप प्रसाईंमाथि छ। उनले अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री, रास्वपा सभापति, पूर्वमन्त्री र सांसदहरू एउटै समूहबाट सञ्चालित भएको दाबी समेत गरेका थिए। वीरगन्जको गहवा माई मन्दिर दर्शन र स्थानीय बासिन्दालाई सम्बोधन गर्न पर्सा पुगेका प्रसाईंलाई सर्वोच्च अदालतले सोमबारसम्म हिरासतमुक्त गर्न आदेश दिइसकेको छ।







