काठमाडौँ– पार्टीभित्र देखिएको मदभेद थप उत्कर्षतिर जान थालेपछि कांग्रेससम्बद्ध विद्यार्थी संघ नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी कार्यालयमा धर्ना दिएका छन्।
ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालयमा आइतबार उनीहरूले धर्ना दिएका हुन्। पार्टीभित्र एकता कायम गर्न, १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई चलायमान बनाउन दबाबस्वरूप सांकेतिक विरोध प्रदर्शन गरिएको नेविसंघले जानकारी गराएको छ।
धर्नामा सहभागी विद्यार्थी नेताहरूले नेपाली कांग्रेसभित्रको आन्तरिक एकता सुदृढ हुनुपर्ने र त्यसको आधार विद्यार्थी संगठनबाटै सुरु हुनुपर्ने बताएका छन्। उनीहरूले गुट–उपगुटभन्दा माथि उठेर संगठन र पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले पहल गर्नुपर्ने धारणा राखेका थिए।
नेविसंघलाई लामो समयसम्म निष्क्रिय अवस्थामा राख्नु उचित नभएको उल्लेख गर्दै उनीहरूले समयमै महाधिवेशन सम्पन्न गरी युवालाई निर्णायक भूमिकामा अघि ल्याउनुपर्ने मागसमेत गरेका छन्।
शेरबहादुर देउवालाई विस्थापन गर्ने विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा गगन थापा आएपछि देउवापक्षले गगनको नेतृत्व नमान्ने बताइरहेको छ।
यसकै सन्दर्भमा विद्यार्थी संघले दुवैपक्षलाई एक हुन दबाब दिँदै प्रदर्शन गरेको हो।







