चितवन। जिल्लाको भरतपुर महानगरले एक उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गराएको छ। महानगरले सुरु गरेको बजार अनुगमनका क्रममा भरतपुर महानगर ३ बेलचोकस्थित सृजना एण्ड सृष्टि प्याकेजिङ उद्योगलाई जरिवाना गराएको हो।

अनुगमनका क्रममा उद्योगमा पूजा सामग्री प्याकेजिङ गर्ने उक्त उद्योगमा तेलको अव्यवस्थित भण्डारण, दुई तीन पटकसम्म लेवलिङ, सरसफाइ कमी, खाद्य र अखाद्य वस्तु एकैठाउँमा राखिएको पाइएपछि जरिवाना गराइएको वडाध्यक्ष विकास थापाले जानकारी दिए।

उनका अनुसार खाद्य प्रविधिमा दर्ता गरी खाद्य र अखाद्य वस्तु छुट्टै राख्न निर्देशन दिइएको छ। यदि, पुनःअनुगमन गर्दा सञ्चालन योग्य देखिएमात्र सो उद्योग सञ्चालन गर्नेगरी तत्काललाई बन्द गरिएको छ।

आजै नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत रामनगर क्षेत्रमा रहेका होटलको अनुगमन गरिएको छ। यसै क्रममा बुधबार नारायणगढको पुतली बजारमा रहेका किराना पसलको अनुगमन गरिएको थियो।

२० भन्दाबढी पसल अनुगमन गर्दा अधिकांशले नवीकरण नगरेको पाइएको थियो। २१ वर्षदेखि नवीकरण नगरी व्यवसाय सञ्चालन हुँदै आएको पाइएको वडा नं २ का वडाध्यक्ष मनोज रानाभाटले जानकारी दिए।

उनका अनुसार व्यवसायीलाई तत्काल दर्ता गर्न र नवीकरण नभएकालाई नवीकरण गर्न निर्देशन दिइएको छ।

तपाईको प्रतिक्रिया