विराटनगर- मध्यपूर्वी राष्ट्रहरूमा जारी द्वन्द्वका कारण इन्धन र निर्माण सामग्रीको मूल्यमा भएको अत्यधिक वृद्धिका कारण कोशी प्रदेशको पूर्वाधार निर्माण क्षेत्र गम्भीर संकटमा परेको छ ।

विराटनगरमा पत्रकार सम्मेलन गर्दै निर्माण व्यवसायीहरूले आफ्नो समस्या सार्वजनिक गरेका हुन् ।

इन्धनको निरन्तर मूल्यवृद्धि र निर्माण सामग्रीको अभावले गर्दा काम अगाडि बढाउन नसकिने स्थिति आएपछि व्यवसायीहरूले निर्माण कार्य ठप्प पार्नुको विकल्प नरहेको बताएका छन् ।

यसै सन्दर्भमा, निर्माण व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष जनसेवक भण्डारीको नेतृत्वमा एक टोलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर ज्ञापनपत्र बुझाएको छ ।

व्यवसायीहरूले डिजेल, पेट्रोल, मट्टितेल जस्ता इन्धनका साथै अलकत्रा, सिमेन्ट र फलामको डन्डीको मूल्य अस्वाभाविक रूपमा बढेको र बजारमा यी सामग्रीको अभाव देखिन थालेको जानकारी गराएका छन् ।

मूल्यवृद्धि र अभावले निर्माण उद्योगलाई नै धराशयी बनाउन लागेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले निर्माण क्षेत्रमा देखिएको संकटप्रति प्रदेश सरकार गम्भीर रहेको र व्यवसायीका मागहरूलाई प्राथमिकताका साथ अध्ययन गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

व्यवसायीको टोलीले भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवारलाई पनि भेटेर आफ्ना मागहरू पेस गरेको छ । व्यवसायीहरूले सरकारसँग तत्काल नयाँ ‘मूल्य समायोजन मार्गनिर्देशन’ जारी गर्न र हाल चालु रहेका सबै ठेक्काहरूमा मूल्य समायोजन लागू गरी राहत प्रदान गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया