काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पाल्पा घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका-११ बस्ने ३० वर्षीय मिलन तिमल्सिना, काभ्रेको रोशी गाउँपालिका-११ घर भई बनेपा बस्ने २४ वर्षीया सिर्जना श्रेष्ठ, नवलपरासीको पूर्व घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने २६ वर्षीय अकिन बस्ताकोटी, गोरखा घर भएकी २२ वर्षीया निशा विक, लमजुङ घर भई काठमाडौं नागार्जुन नगरपालिका-१ बस्ने ३८ वर्षीय राजेन्द्र अधिकारी र काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ३४ वर्षीय सागर श्रेष्ठ रहेका छन्।
पक्राउ परेकामध्ये मिलनले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ, सिर्जनाले माल्दिभ्स पठाइदिन्छु भन्दै २ लाख ५० हजार रुपैयाँ, अकिनले कम्बोडिया पठाइदिन्छु भन्दै ५ लाख ७५ हजार रुपैयाँ, निशाले पोर्चुगल पठाइदिन्छु भन्दै २ लाख ६० हजार रुपैयाँ, राजेन्द्रले अमेरिका पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ र सागरले सिङ्गापुर पठाइदिन्छु भन्दै ३ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरी दिएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मिलन र सिर्जनालाई काठमाडौं महानगरपालिका-१२ बाट, अकिनलाई काठमाडौं महानगरपालिका-१६ बाट, निशालाई काठमाडौं महानगरपालिका-२ बाट, राजेन्द्रलाई काठमाडौं नागार्जुन नगरपालिका-१ बाट र सागरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।







