विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा आज बिहानैदेखि सुरक्षा टोलीले व्यापक खानतलासी सुरु गरेको छ ।
कारागारभित्र लागुऔषधलगायत अवैध वस्तु राखिएको सूचनाका आधारमा बिहान ४ः३० बजेदेखि खानतलासी थालिएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, जिल्ला प्रहरी प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा सुरक्षाकर्मी परिचालन गरी कारागारभित्र खानतलासी गरिएको हो ।
खानतलासीसँगै कारागारका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारीसमेत गरिएको बताइएको छ ।
विशेषगरी आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट सम्बन्ध रहेका तथा उनलाई कारागारभित्रबाट सहयोग गरिरहेको आशंका गरिएका १५ जनाभन्दा बढी कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गर्ने तयारी रहेको स्रोतको दाबी छ ।
तर, स्थानान्तरणको तयारीबारे जानकारी पाएपछि कारागारको बी ब्लकका कैदीबन्दी आन्दोलित भएका छन्। उनीहरूले स्थानान्तरणको विरोधमा कारागारभित्रै प्रदर्शन र नाराबाजी गर्नुका साथै आगोसमेत बालेर विरोध जनाएका थिए। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
आन्दोलनरत कैदीबन्दीले बी ब्लकभित्र सुरक्षाकर्मीलाई प्रवेश गर्न दिएका छैनन्। उनीहरूले भित्रबाट तालाबन्दी गरी नाराबाजी गरिरहेका छन्।







