जयकृष्ण यादव
इनरुवा, भदौ १ गते । सुनसरी र सप्तरी जिल्लालाई जोड्ने सप्तकोशी नदीस्थित कोशी ब्यारेजको पुलबाट एक भारतीय युवक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भारतको अररिया, बिहारका २५ वर्षीय सञ्जीवकुमार शर्मा रहेको इलाका प्रहरी कार्यालय भण्टाबारीले जानकारी दिनुभयो । प्रारम्भिक जानकारीअनुसार शर्मा कोशी ब्यारेजको पुलबाट नदीतर्फ बेपत्ता हुनुभएको हो ।

घटनालगत्तै सुनसरी र सप्तरीतर्फका सुरक्षाकर्मीले खोजी तीव्र बनाएका छन् । खोजीका लागि विपद् व्यवस्थापन सुरक्षा बेस भारदहबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसागर बिष्टको नेतृत्वमा टोली परिचालन गरिएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय भण्टाबारीबाट प्रहरी नायब निरीक्षक सुरेश यादवको नेतृत्वमा प्रहरी टोली तथा कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले खोजी गरिरहेको छ ।

सीमा सुरक्षा गुल्म हरिपुरबाट सशस्त्र प्रहरीको टोलीसमेत खोजी कार्यमा परिचालन गरिएको छ ।

बेपत्ता युवकको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पग्लीबाट सशस्त्र प्रहरी निरीक्षक तेजकुमार मगरको कमान्डमा ११ जनाको गोताखोर टोलीसमेत परिचालन गरिएको छ ।

सुरक्षाकर्मीहरूले कोशी नदी तथा ब्यारेज आसपासका क्षेत्रमा खोजी गरिरहेका छन् । युवक कसरी नदीमा बेपत्ता भए भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

बेपत्ता युवकको अवस्था र खोजी कार्यबारे थप विवरण आउन बाँकी रहेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय पत्रकार देवराज यादवले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया