काठमाडौं। नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार र आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अतिआवश्यक उपभोक्ताका लागि १६ हजार ३०० बढी सिलिन्डर ग्यास बिक्री वितरण गरिए पनि उपभोक्ताको भीड हटेको छैन। ग्यासका लागि उपभोक्ता दिनभरजसो लाइनमै देखिए।
बिक्रेताबाट सहजै ग्यास नपाइएको गुनासो बढेपछि निगमले काठमाडौँ र भक्तपुरका १० स्थानबाट विभिन्न कम्पनीको ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको थियो । शनिबार काठमाडौँको टेकु, बबरमहल, चाबहिल, कीर्तिपुर र वसुन्धारामा ग्यास बिक्री वितरण गरेको हो।
अतिआवश्यक उपभोक्ताका लागि आइतबार टेकु, बूढानीलकण्ठ, कीर्तिपुर, नयाँबजार, तारकेश्वर, चन्द्रागिरि र ठिमीबाट विभिन्न कम्पनीका ग्यास बिक्री गरिएको थियो। सातवटा बिक्री केन्द्रबाट आइतबार ९ हजार ५६८ थान सिलिन्डर बिक्री गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।
शनिबार ६ हजार ८०२ थान सिलिन्डर बिक्री गरिएको निगमले जनाएको छ। निगमले आजदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका बिक्रेताबाट नियमित प्रक्रियाअनुसार बिक्रीवितरणको व्यवस्था मिलाइएको जनाउँदै आफूलाई पायक पर्ने ग्यास बिक्रेताकहाँ सम्पर्क गरी खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ।
पछिल्लो चार महिना आधा सिलिन्डर ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएकामा गत असार ३१ देखि १४.२ किलो बराबरको ग्यास उपलब्ध गराउन थालिएपछि बजारमा एकाएक ग्यास अभाव देखिएको थियो।







