विराटनगर/ कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले मोरङको इलाका प्रहरी कार्यालय लेटाङको निरीक्षण तथा अवलोकन गर्नुका साथै हिरासत पुस्तकालय र प्रहरीमा प्रविधि मैत्री प्रणालीलाई जोड दिदै लेटाङ एरिया इलाकामा शान्ति सुरक्षा प्रभावकारी बनाउन प्रविधियुक्त ड्रोन क्यामेराको उद्‍घाटन गर्नु भएको छ ।
निरीक्षण अवलोकन तथा उद्‍घाटन कार्यक्रमलाई सम्वोधनको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेले दिनानुदिन जटिल, सूक्ष्म तथा प्रविधिको प्रयोग गरी हुने अपराधको स्वरूपलाई मध्यनजर गर्दै प्रहरीलाई प्रविधिमा आधारित बनाउदै लैजान इलाका प्रहरी कार्यालय लेटाङले सुरु गरेको ड्रोन क्यामेरा प्रविधि समयसापेक्ष तथा नवप्रवर्तनशील कदम रहेको बताउनु भयो ।
लेटाङ क्षेत्रमा पहाडी डाँडा पाखा, घना वन जंगल, नदी-नाला तथा दुर्गम भेगहरूले भरिएको एरिया इलाकाहरुमा प्रहरीको मोवायल तथा पैदल गस्ती र निगरानीले मात्र प्रहरीको पहुँच पर्याप्त नहुने भएकाले ड्रोन क्यामेराको प्रयोगले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नु भएको छ । वहाँले आचरण व्यवहारमा सकारात्मक परिवर्तनका लागि “थुनुवाहरूलाई हात-हातमा किताब” भन्ने उदेश्यका साथ हिरासत पुस्तकालयको स्थापनाले हिरासतमा रहेका व्यक्तिहरूले समयलाई आत्मनिरीक्षण, अध्ययन र सकारात्मक सोचतर्फ उन्मुख गर्न मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रसंशा-पत्र तथा नगद पुरस्कार द्वारा पुरस्कृत गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कबित कटुवाल, प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, पुर्वि पृतना लेटाङ शिक्षालयका प्रमुख सेनानी सरोज कार्की, स्थानिय जनप्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी, बुद्धीजिवी लगायत संचार कर्मीहरुको उपस्थिति रहेको थियो ।
इलाका प्रहरी कार्यालय, लेटाङको जिम्मेवारी क्षेत्रभित्र शान्ति सुरक्षा, अपराध अनुसन्धान, ट्राफिक निगरानी, खोला नालामा हुने अवैध उत्खनन, चोरी-तस्करी लगायत आपराधिक गतिविधिहरूलाई नियन्त्रण गर्न तथा आपतकालिन अवस्थामा शिघ्र प्रहरीको पहुँच सुनिश्चित गर्न प्रविधि युक्त ड्रोन क्यामेराबाट निगरानी बढाई प्रहरी कार्यलाई थप प्रभावकारी, छिटो छरितो तथा प्रविधिमैत्री बनाई समाजमा शान्ति सुरक्षा कायम राखि नागरिक र प्रहरीको सम्बन्ध सुदृढ बनाउन इलाका प्रहरी कार्यालय लेटाङ सकृय रहनेछ ।

तपाईको प्रतिक्रिया