काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले देशको अर्थतन्त्र १०० अर्ब डलर बनाउने गरी काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् । बिहीबार अन्तर-सरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले बजेटमा सोहीअनुसार निर्माण हुने बताएका हुन् ।
उनले सरकारको नियमित बजेटभन्दा बाहिरबाट पनि विकास निर्माणको काम कसरी छिटो गर्न सकिन्छ भन्नेबारे सरकारले सोचिरहेको सुनाए । उनले ठूला-ठूला सडक आयोजना तथा निर्माणहरू निजी क्षेत्रलाई जिम्मा लगाएर पनि गर्न सकिने बताए । उनले यी काम गर्दा मात्रै अर्थतन्त्र १०० अर्बको बनाउन सकिने उल्लेख गरे ।
‘७ प्रतिशत आर्थिक वृद्धिदर बनाउन सके मात्रै ५-७ वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ । १०० अर्ब डलरको शान नै अर्को हुन्छ नि देशको,’ उनले भने। उनले यस पटकदेखि नीतिगत रुपमा कब्जाको युग सकिएको पनि बताए । ‘नीतिगत कब्जाको युग अब सकियो । सबैजना माथि जाने योजना ल्याउने हो’ उनले भने ।







