विराटनगर / विराटनगरमा निर्माण गरिएको प्रधानमन्त्री पार्क औपचारिक रूपमा विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । निर्माण कार्य सम्पन्न गरी अन्तिम भुक्तानीसमेत प्राप्त गरिसकेको निर्माण कम्पनीले पार्कको संरक्षण, रेखदेख तथा सञ्चालनको जिम्मेवारी महानगरपालिकालाई हस्तान्तरण गरेको हो ।
खुश्बु निर्माण सेवा प्रालिका निर्देशक दुष्यन्तकुमार पौडेलले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मालाई पार्कको चाबी हस्तान्तरण गरे । चाबी हस्तान्तरणसँगै निर्माण सम्पन्न भएको पार्कको स्वामित्व र सञ्चालनसम्बन्धी जिम्मेवारी औपचारिक रूपमा महानगरपालिकामा सरेको छ ।
महानगरपालिका र निर्माण कम्पनीबीच २०७९ असोज ११ गते भएको ठेक्का सम्झौताअनुसार कम्पनीले प्रधानमन्त्री पार्क निर्माणको जिम्मेवारी पाएको थियो ।
निर्माण कम्पनीले महानगरपालिकाका प्राविधिक कर्मचारीको प्रत्यक्ष रेखदेख, निर्देशन तथा स्वीकृत डिजाइन र नक्साअनुसार गुणस्तरीय निर्माण सामग्री प्रयोग गरी काम अघि बढाएको जनाएको छ ।
सम्झौतामा उल्लेखित सर्त र मापदण्डअनुसार निर्माण कार्य पूरा भएपछि महानगरपालिकाको प्राविधिक टोलीबाट स्थलगत अनुगमन, नापजाँच तथा गुणस्तर परीक्षण गरिएको थियो ।
निर्माण कम्पनीले बुझाएको पत्रअनुसार २०८३ असोज २८ गते तयार पारिएको अन्तिम मूल्यांकन प्रतिवेदनका आधारमा अन्तिम भुक्तानीसमेत प्राप्त भइसकेको छ । निर्माण कार्य सम्पन्न भई भुक्तानीसमेत भइसकेपछि निर्माणस्थल र त्यहाँ निर्मित संरचनाको संरक्षण, रेखदेख तथा सञ्चालनको जिम्मेवारी महानगरपालिकालाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
यससँगै प्रधानमन्त्री पार्कको संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकाको काँधमा आएको छ । अब पार्कलाई व्यवस्थित रूपमा सञ्चालन गरी नगरवासीका लागि उपयोगी सार्वजनिक स्थलका रूपमा विकास गर्नु महानगरपालिकाको जिम्मेवारी हुनेछ ।
पार्क निर्माणका लागि १७ करोड १३ लाख ४८ हजार ८४ रुपैयाँ ६६ पैसा लागत लाग्ने गरी योजना अघि बढाइएको थियो । उक्त रकम भ्याट र पीएससहितको लागत हो ।
प्रधानमन्त्री पार्क विराटनगर–२ र ७ को सीमामा रहेको घोघाहा खद्रापैनी क्षेत्रमा निर्माण गरिएको हो । विराटनगरमा जन्मिएका सात जना पूर्वप्रधानमन्त्रीको योगदानलाई स्मरण गर्दै उनीहरूको स्मारकसहितको पार्क निर्माण गरिएको हो । पार्कमा प्रवेशद्वार, स्मारकस्थल, सार्वजनिक शौचालय, बाल उद्यान, खुला रङ्गमञ्च, प्रतीक्षालय तथा डुङ्गा सञ्चालन गर्ने क्षेत्रलगायतका संरचना निर्माण गर्ने योजना रहेको थियो ।
महानगरपालिकाले आन्तरिक स्रोतबाट निर्माण गरेको यो आयोजना सम्पन्न भएसँगै विराटनगरमा सार्वजनिक तथा पर्यटकीय पूर्वाधारको एउटा महत्त्वपूर्ण संरचना थपिएको छ





