काठमाडौं, १२ मंसिर । कुनै समय विश्वमा सबैभन्दा बढी मृत्युदण्ड दिने मुलुकहरूमध्ये एक मानिने भियतनामले मृत्युदण्डको सजाय हुने अपराधहरूको सङ्ख्या क्रमशः घटाउँदै लगेको छ।
नोभेम्बर २० मा सो मुलुकको राष्ट्रिय सभाले परिमार्जित फौजदारी संहिता पारित गर्यो, जसले लागुऔषध ओसारपसार, १६ वर्षभन्दा कम उमेरका व्यक्तिमाथि गरिएको बलात्कार र मानवताविरुद्धका अपराधलगायत छ प्रकारका अपराधका लागि मृत्युदण्डको सजाय खारेज गरेको छ।
आगामी मार्च महिनामा यो कानुन लागू भएपछि मृत्युदण्डको सजाय हुने अपराधहरूको सङ्ख्या घटेर चारमा सीमित हुनेछ, जसमा देशद्रोह, हत्या, आतङ्कवाद र लागुऔषधको अवैध उत्पादन पर्छन्। सन् १९९७ मा यस्ता अपराधहरूको सङ्ख्या ४४ थियो।
यद्यपि भियतनामले मृत्युदण्डको व्यवस्था पूर्ण रूपमा हटाउने कुनै ठोस सङ्केत दिएको छैन, तर कैदीहरूलाई नियमित रूपमा मृत्युदण्ड दिने अन्य थोरै देशहरूले मात्र यसको कानुनी प्रयोगलाई यति धेरै साँघुरो बनाएका छन्।
यी सुधारहरू विशेष रूपमा उल्लेखनीय छन्; किनकि यस्तो समयमा भइरहेका छन्, जब त्यहाँको सत्तारुढ कम्युनिस्ट पार्टीले राजनीतिक असहमति र स्वतन्त्र नागरिक समाजमाथि आफ्नो दमन तीव्र पारेको छ।
सरकारी समाचार संस्था ‘भियतनाम न्युज एजेन्सी’ का अनुसार सार्वजनिक सुरक्षा मन्त्री जनरल लुओङ ताम क्वाङले यी परिवर्तनहरूले मानवीय दृष्टिकोण, अपराधको गम्भीरता अनुसारको सजायको आवश्यकता र अन्तर्राष्ट्रिय समुदायसँग भियतनामको बढ्दो आबद्धतालाई झल्काउने बताएका छन्। साथै, यसले अपराधविरुद्ध कडा नीतिलाई पनि कायमै राखेको छ।
हनोईस्थित ‘एएनभीआई’ ल फर्मका वकिल ट्रान दाई लामका अनुसार मृत्युदण्ड दिइने अपराधहरूको सङ्ख्यामा भियतनामले गरेको क्रमिक कटौतीले त्यहाँको फौजदारी न्यायसम्बन्धी दर्शनमा आएको विकासलाई दर्शाउँछ।
उनले डीडब्लु लाई भने, “अहिले यो बुझाइ बढ्दै गएको छ कि फौजदारी कानुनको प्रभावकारिता सजायको कठोरतामा होइन, बरु अपराध पत्ता लाग्ने, मुद्दा चल्ने र दोषीलाई सजाय हुने कुराको निश्चिततामा निर्भर गर्दछ।”
के भियतनाम मृत्युदण्ड खारेज गर्ने दिशामा अघि बढ्दै छ?
भियतनामको पछिल्लो सुधार राष्ट्रिय सभाले हिनामिना, घूसखोरी, जासुसी र लागुऔषधको अवैध ओसारपसारलगायत आठ अन्य अपराधका लागि मृत्युदण्ड खारेज गरेको एक वर्षपछि मात्र आएको हो।
भियतनामको फौजदारी न्याय प्रणालीमा लागुऔषधसँग सम्बन्धित अपराधहरूको प्रमुखता र विश्वको सबैभन्दा ठूलो अवैध लागुऔषध उत्पादन गर्ने क्षेत्रहरूमध्ये एक ‘गोल्डेन ट्राइएंगल’ सँग देशको निकटतालाई ध्यानमा राख्दै लागुऔषध ओसारपसारको लागि मृत्युदण्डको सजाय हटाउनु विशेष गरी महत्त्वपूर्ण छ।
नयाँ कानुनले अब मृत्युदण्ड नदिने अपराधका लागि विद्यमान मृत्युदण्डलाई आजीवन कारावासमा परिणत गर्ने व्यवस्था पनि गरेको छ।
अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयमा अपराधशास्त्रका व्याख्याता हाई लुओङले डिडब्लुलाई बताए कि भियतनामले “रिटेन्सिस्ट-तर-रिडक्सनिस्ट” दृष्टिकोण अपनाएको छ।
“भियतनामले मृत्युदण्ड खारेज गर्नुको सट्टा सुधार गरिरहेको छ,” उनले भने, “प्रवृत्ति मृत्युदण्डको सीमित र छनौटपूर्ण प्रयोगतर्फ छ, तर अझै पूर्ण रूपमा हटाउने दिशामा छैन।”
लुओङका अनुसार मृत्युदण्डको सजायमा क्रमिक कमीले हनोईले सबैभन्दा गम्भीर अपराध मान्ने विषयमा कडा सजाय दिने अधिकार त्यागेर आफ्नो कानुनी प्रणालीलाई आधुनिकीकरण गर्ने प्रयासलाई प्रतिबिम्बित गर्दछ।





