लक्ष्मी चौधरी
जनकपुरधाम, चैत २७ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संविधानले प्रदेशलाई प्रदान गरेका अधिकारहरू पूर्ण रूपमा कार्यान्वयन भए प्रदेशको सुरक्षा संयन्त्र अझ सुदृढ, व्यवस्थित र स्रोत–साधनयुक्त बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा शुक्रबार जनकपुरधाममा आयोजित प्रतिनिधि सभा सदस्य निर्वाचन समीक्षा तथा सुरक्षा समन्वय कार्यक्रममा बोल्दै उहाँले सङ्घीय शासन व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि बाँकी अधिकर व्यवहारमा लागू हुन आवश्यक रहेको बताउनुभयो । हाल केही अधिकार कार्यान्वयनको चरणमै अपूर्ण रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन भूमिका खेलेको भन्दै तीनै तहका सुरक्षा निकायका प्रतिनिधि तथा मधेस प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
मुख्यमन्त्री यादवले मधेसजस्तो संवेदनशील क्षेत्रमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै यसले लोकतान्त्रिक अभ्यासप्रति जनविश्वास अझ बलियो बनाएको बताउनुभयो । उहाँले सुरक्षा निकायहरूको समन्वयात्मक भूमिका निर्वाचन सफलताको मुख्य आधार भएको पनि स्पष्ट पार्नुभयो ।
साथै, उहाँले वर्तमान प्रधानमन्त्रीले चुनावी अभियानका क्रममा जनकपुरधाममा गरेका प्रतिबद्धताहरू कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । यस पटकको निर्वाचन परिणाम समग्र रूपमा प्रशंसनीय रहेको पनि उहाँले बताउनुभयो।
मुख्यमन्त्री यादवले आगामी दिनमा पनि यस्तै समन्वय र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै सुरक्षा निकाय, प्रशासन र सरकारबिचको सहकार्यले प्रदेशमा सुशासन, शान्ति र स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति तथा गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले मधेस प्रदेशमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुनुमा सुरक्षा निकायहरूको समन्वयात्मक भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा मुख्य सचिव कमलप्रसाद भट्टराई, निमित्त पृतनापति तथा सहायक रथी शरद लामिछाने, प्रदेश तथा जिल्लास्तरका सुरक्षा निकायका प्रमुखहरू तथा आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको उपस्थिति रहेको थियो ।







