मोरङ । नेपाल आयल निगम ले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ । नयाँ समायोजनसँगै सर्वसाधारणको दैनिक खर्च थप बढ्ने देखिएको छ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल तथा मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँले मूल्य बढाइएको छ । यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिलिटर १०० रुपैयाँ वृद्धि गरिएको छ।
नयाँ मूल्यसूचीअनुसार अब १४.२ केजीको ग्यास सिलिण्डरको मूल्य २ हजार १० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर २१६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २१८ रुपैयाँ र तेस्रो वर्गमा २१९ रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा २०४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २०६ रुपैयाँ र तेस्रो वर्गमा २०७ रुपैयाँ प्रतिलिटर तोकिएको निगमले जनाएको छ।
यसबाहेक, आन्तरिक हवाई इन्धनको मूल्यमा पनि प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरिएको छ।
मूल्यवृद्धिले बजारमा महँगी अझ बढ्ने अनुमान गरिएको छ भने उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा थप आर्थिक भार व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ।

तपाईको प्रतिक्रिया