विराटनगर । अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी बोल्ने प्रतियोगिताका लागि विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका विद्यार्थी इशल भट्टराई छनौट हुनुभएको छ ।
थाइल्याण्डमा यहि अगस्ट २७–३१ (भदौं ११–१५) सम्म हुने प्रतियोगिताका लागि भट्टराई छनौट हुनुभएको हो । उक्त प्रतियोगितामा इशल सँगै नेपालका चार जना विद्यार्थी छनौट हुनुभएको छ । प्रथम चरणको छनौटमा एभरेष्टका इशल, काब्या +२ काठमाडौंका चारु आचार्य, नेशनल इन्फोटेक कलेज वीरगञ्जका सारा श्रेष्ठ र वीरगञ्जकै गौतम सेकेन्डरी स्कुलकी स्वारा झा छनौट हुनुभएको हो ।
नेपालका लागि यो कार्यक्रम आरभीआई ग्रुपसँगको सहकार्यमा आरभीआइपीएसको सहयोगमा माई सेकेण्ड टिचरले आयोजना गरेको हो । माई सेकेण्ड टिचर लागु गरिएका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गराउन प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।
यस्तो प्रतियोगिता १० देखि १५ वर्ष र १६ देखि २७ वर्षको उमेर समूह गरि दुई समूहमा प्रतिष्पर्धा हुने गरेको जानकारी दिँदै माई सेकेण्ड टिचरले नेपालका लागि भने १६ देखि २७ वर्ष उमेर समूहका विद्यार्थीले भाग लिन पाउने जनाएको छ । यो प्रतिस्पर्धाले युवा पुस्तालाई विश्वव्यापी सवालहरूमा आफ्ना आवाज उठाउन र आत्मविश्वासी वक्ता बन्न प्रेरित गर्ने आयोजकको विश्वास छ ।
‘अहिलेको डिजिटल युगमा विश्व नागरिकका हैसियतले कसरी हामी विभेदहरू हटाउँदै एक आपसमा जोडिएको संसार निर्माण गर्न सक्छौं’ भन्ने शिर्षकमा सहभागीहरुले आफ्ना विचार राख्नुपर्ने छ ।
छनौटका लागि विद्यार्थीहरुले ५ सय शब्द र अधिकतम ४ मिनेटसम्मको भिडियो पठाएका थिए । तीनै भिडियोको आधारमा उत्कृष्ट चार जना थाइल्याण्डका लागि छनौट भएका हुन् । त्यहाँबाट छनौट भएकाहरुको फाइनल स्पर्धा भने चीनको सुझोउ, जियाङ्सुमा हुने छ ।
२१ औं शताब्दी माइक अप नामको विद्यालय तहको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि राष्ट्रको संख्या यति भन्ने एकिन नभएपनि म्यानमार फिलिपिन्स, थाइल्याण्ड र लाओस बाहेकका राष्ट्रहरुलाई खुला गरिएको आयोजकले जानकारी दिएको छ ।