काठमाडौं । नेपाली सेनाको भावी प्रधानसेनापतिका रूपमा हेरिएका उपरथी अनुपजंग थापालाई रथीमा बढुवा गर्ने प्रक्रिया अघि बढेको छ। नेपाली सेनाको नेतृत्व तहमा हुन लागेको आगामी हेरफेरसँगै थापा बलाध्यक्ष रथी हुँदै बलाधिकृत रथीको जिम्मेवारीमा पुग्ने र त्यसपछि प्रधानसेनापति बन्ने बाटोमा देखिएका छन्।
हाल नेपाली सेनाको महत्वपूर्ण मानिने युद्धकार्य विभागको प्रमुखका रूपमा कार्यरत थापालाई रथीमा बढुवा गर्न सेनाले औपचारिक प्रक्रिया सुरु गरेको हो। उनको बढुवासम्बन्धी सूचना गत सोमबार प्रकाशित गर्दै सम्भावित उजुरीका लागि सात दिनको समय दिइएको छ। उजुरी नपरेमा वा परेका उजुरीबाट बढुवा प्रक्रिया प्रभावित नभएमा आगामी सोमबार बढुवा सिफारिस अघि बढ्न सक्नेछ।
थापाको बढुवासँगै नेपाली सेनाको उच्च नेतृत्व तहमा जिम्मेवारी हेरफेर हुने निश्चितजस्तै छ। संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत अब्येईमा फोर्स कमान्डरका रूपमा कार्यरत बलाध्यक्ष रथी गणेशकुमार श्रेष्ठ मंसिर ७ गतेदेखि नेपाली सेनाको सेवाबाट अनिवार्य अवकाशमा जाँदैछन्। उनको अवकाशपछि रिक्त हुने बलाध्यक्ष रथीको जिम्मेवारी थापाले सम्हाल्ने तयारी छ।
श्रेष्ठ नेपाली सेनाबाट अवकाश भए पनि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा भने थप एक वर्ष फोर्स कमान्डरकै जिम्मेवारीमा रहनेछन्। यही व्यवस्थाअनुसार सरकारले उनलाई रथीमा बढुवा गरेको थियो। उनी सन् २०२६ जनवरीदेखि दुई वर्षका लागि अब्येई मिसनको फोर्स कमान्डर नियुक्त भएका थिए। तर नेपाली सेनामा रथी पदको ५८ वर्षे उमेर हद पूरा हुन लागेकाले उनी मंसिर ७ गतेदेखि अनिवार्य अवकाशमा जान लागेका हुन्।
एक महिनाभित्रै फेरिँदै सेनाको शीर्ष कमान्ड
नेपाली सेनाको प्रचलित अभ्यासअनुसार पहिलो वरीयताका रथीलाई बलाधिकृत र दोस्रो वरीयताका रथीलाई बलाध्यक्ष रथीको जिम्मेवारी दिइँदै आएको छ। हाल बलाधिकृत रथीको जिम्मेवारीमा प्रदीपजंग केसी छन्। तर उनी पनि मंसिर १५ गतेदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन्।
केसी २०८१ मंसिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट रथीमा बढुवा भएका थिए। उनको अवकाशपछि उपरथी मधुकर कार्कीलाई रथीमा बढुवा गर्ने तयारी छ। त्यसपछि नेपाली सेनाको उच्च कमान्डमा अनुपजंग थापा बलाधिकृत रथी र मधुकर कार्की बलाध्यक्ष रथीको जिम्मेवारीमा रहनेछन्।
यसरी आगामी मंसिर महिनाभित्रै नेपाली सेनाको शीर्ष कमान्डमा महत्वपूर्ण फेरबदल हुने देखिएको छ। थापा र कार्की दुवैको बढुवा प्रक्रिया पूरा भएपछि सेनाको नेतृत्व संरचनाले नयाँ स्वरूप लिनेछ।
वरियतामा थापा अगाडि, कार्की दुई ब्याच कनिष्ठ
उपरथी अनुपजंग थापा र मधुकर कार्कीबीचको बढुवा र वरीयताको यात्रामा केही फरक पृष्ठभूमि छ। थापा कार्कीभन्दा दुई ब्याच वरिष्ठ हुन्। नेपाली सेनामा सामान्यतया वरिष्ठ रथी नै प्रधानसेनापति बन्ने परम्परा रहँदै आएको छ। यही कारण थापालाई भावी प्रधानसेनापतिको बलियो दाबेदारका रूपमा हेरिएको हो।
यद्यपि प्रमुख सेनानीमा भने कार्की थापाभन्दा पहिले बढुवा भएका थिए। तर नेसनल डिफेन्स कोर्स (एनडीसी) समयमा पूरा नगर्दा कार्कीको सहायक रथीमा बढुवा प्रक्रिया ढिलो भएको थियो। त्यसको प्रभाव उनको पछिल्लो बढुवा क्रम र वरीयतामा पनि परेको देखिन्छ।
कार्की सहायक रथीमै कार्यरत रहेका बेला २०८० फागुन ६ गते थापा उपरथीमा बढुवा भएका थिए। त्यसको करिब पाँच महिनापछि २०८१ साउनमा कार्की पनि उपरथीमा बढुवा भए। दुवैले यसअघि पृतनापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
थापा २८ बेसिकका सैनिक अधिकृत हुन्। उनीसँगै उपरथीमा बढुवा भएका अन्य दुई अधिकृत भने उमेर हदका कारण अवकाश भइसकेका छन्। यसले पनि थापाको आगामी बढुवा र नेतृत्व यात्रालाई थप महत्वपूर्ण बनाएको छ।
युद्धकार्य विभागबाट नेतृत्वको सर्वोच्च जिम्मेवारीसम्मको यात्रा
अनुपजंग थापा हाल नेपाली सेनाको युद्धकार्य विभागको प्रमुखका रूपमा कार्यरत छन्। सैनिक संगठनभित्र युद्धकार्य विभागलाई महत्वपूर्ण र रणनीतिक जिम्मेवारी भएको विभागका रूपमा लिइन्छ। यसअघि उनले पृतनापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
थापा रथीमा बढुवा भएपछि करिब एक साताभित्रै मधुकर कार्कीलाई पनि रथीमा बढुवा गर्ने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। कार्की हाल सैनिक मुख्यालयअन्तर्गत निरीक्षणाधिकृत विभागमा कार्यरत छन्।
सेनाभित्रको बढुवा प्रक्रियाअनुसार सम्भावित उजुरीमाथि छानबिन तथा आवश्यक प्रक्रिया पूरा भएपछि सम्बन्धित समितिले बढुवाका लागि सिफारिस गर्नेछ। त्यसपछि मन्त्रिपरिषद्बाट निर्णय हुनेछ भने प्रधानसेनापतिले दर्ज्यानी चिह्न प्रदान गर्नेछन्।
२०८४ भदौ २४ बाट प्रधानसेनापति बन्ने सम्भावना
हालका प्रधानसेनापति अशोकराज सिग्देलले तीन वर्षे कार्यकाल पूरा गरी अवकाश पाएपछि अनुपजंग थापा नेपाली सेनाको प्रधानसेनापति बन्ने सम्भावना बलियो देखिएको छ। निर्धारित कार्यतालिका र विद्यमान वरीयता कायम रहेमा २०८४ भदौ २४ गतेदेखि थापाले नेपाली सेनाको सर्वोच्च नेतृत्व सम्हाल्नेछन्।
त्यसका लागि उनले आगामी दिनमा रथी, बलाध्यक्ष रथी तथा बलाधिकृत रथीको जिम्मेवारी क्रमशः पूरा गर्नुपर्नेछ। नेपाली सेनामा वरिष्ठता र संस्थागत परम्परालाई प्रधानसेनापति नियुक्तिको महत्वपूर्ण आधार मानिँदै आएको छ।
यसरी आगामी केही महिनामा नेपाली सेनाको उच्च नेतृत्व तहमा हुने बढुवा र जिम्मेवारी हेरफेरले भावी नेतृत्वको तस्बिर क्रमशः स्पष्ट पार्ने देखिन्छ। अहिले सुरु भएको अनुपजंग थापाको रथी बढुवा प्रक्रिया उनको सैनिक जीवनको अर्को महत्वपूर्ण चरण मात्र नभई नेपाली सेनाको भावी नेतृत्व निर्धारण गर्ने घटनाक्रमका रूपमा समेत हेरिएको छ।
साभार सुरक्षा सरोकार डट कमको सहयोगमा





