काठमाडौं। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि करिब १९ खर्ब बजेट लेख्नका लागि मस्यौदा समिति गठन गरेको छ । राष्ट्रिय स्रोत अनुमान समितिले दिएको १८ खर्ब ९० अर्ब ४४ करोड रुपैयाँको सीमाभित्र रहेर बजेटको मस्यौदा तयार गर्न समिति गठन गरेको हो।
मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको जनाएको छ। समिति सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा.सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमख डा.धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल रहेका छन्।
समिति गठन भएसँगै आगामी वर्षको बजेट निर्माण प्रक्रियाले गति लिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेय बताउँछन्। प्रवक्ता पाण्डेयले भने, ‘अर्थमन्त्री ज्यू आफैँ निजी क्षेत्रका प्रतिनिधिसँग संवाद गर्न वीरगन्ज पुग्नुभएको छ । सुधारका एजेन्डा सम्बोधन गर्ने उद्देश्यले बजेट तर्जुमा प्रक्रिया सुरु भएको छ।’
समितिले आर्थिक वर्ष ०८३/८४ को बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता तयार गर्ने छन्। त्यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट संघीय संसदमा पेस गर्ने बजेट वक्तव्यको मस्यौदासमेत समितिले नै तयार गर्ने छ। समितिलाई आगामी वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउने कार्यक्षेत्र पनि तोकिएको छ।
यस्तै, आगामी बजेटमार्फत कार्यान्वयन गरिने आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण गर्ने जिम्मेवारी पनि दिइएको छ । आगामी बजेटका लागि राष्ट्रिय स्रोत अनुमान समितिले अर्थ मन्त्रालयलाई चालूतर्फ सात खर्ब ५५ अर्ब २४ करोड, तीन खर्ब ६७ अर्ब १० करोड पुँजीगत र तीन खर्ब ४८ अर्ब ९५ करोड वित्तीय व्यवस्थातर्फ सीमा निर्धारण गरिदिएको छ ।
त्यस्तै, प्रदेश र स्थानीय तहमा हस्तान्तरणका लागि चार खर्ब १९ अर्ब १५ करोड सीमा तोकिएको छ ।
sorce: Capitalnepal.com







