नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली को पक्राउप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ ।
कोशी प्रदेश कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा हालै गठित सरकारलाई “अराजनीतिक” भन्दै कथित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा ओलीलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण कदम भएको आरोप लगाइएको छ । विज्ञप्तिमा यस्तो कार्यले मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्ने चेतावनीसमेत दिइएको छ ।
एमालेका अनुसार भदौ २३ गतेको जेनजी नवयुवाहरूको शान्तिपूर्ण आन्दोलनलाई योजनाबद्ध रूपमा हाई ज्याक गरी जन निर्वाचित सरकार र संसद विघटन गर्दै गैर संवैधानिक बाटोबाट बनेको सरकारले असंवैधानिक, पूर्वाग्रही र प्रतिशोधपूर्ण आयोग गठन गरेको दाबी गरिएको छ । सोही आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा पार्टी अध्यक्षसहित नेताहरूलाई पक्राउ गर्नु लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनमाथिको “नाङ्गो प्रहार” भएको एमालेको निष्कर्ष छ ।
कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले हस्ताक्षर गरेको विज्ञप्तिमा पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न, प्रतिशोधपूर्ण गतिविधि बन्द गर्न सरकारसँग माग गरिएको छ ।







