विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे ।

प्रदर्शनीको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले घर निर्माणका सन्दर्भमा आम उपभोक्तालाई सही जानकारी दिन यस्ता कार्यक्रमले ठुलो सहयोग पुर्‍याउने बताए । उनले प्रदेशमा व्यवस्थित प्रदर्शनी स्थल एक्स्पो सेन्टरको अभाव रहेको स्वीकार गर्दै त्यसका लागि सरकार सहयोग गर्न तयार रहेको उद्घोष गरे । ‘उद्योगी व्यवसायीहरूले जग्गाको व्यवस्था गरेको खण्डमा प्रदेश सरकारले प्रदर्शनी स्थलको भवन निर्माणका लागि आवश्यक बजेट र सहयोग उपलब्ध गराउनेछ,’ मुख्यमन्त्री कार्कीले भने, ‘यसका लागि उद्योग संगठनले पहल गरोस्, सरकार साथमा छ ।’

चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए । ५ दिनसम्म चल्ने प्रदर्शनीको ४ दिन फरक–फरक विषयमा विज्ञहरूसँग अन्तर्क्रिया हुनेछ ।

आयोजकका अनुसार प्रदर्शनीमा चैत १३ गते सुरक्षित र सही निर्माण अन्तर्गत निर्माण सामग्रीको गुणस्तर, विद्युतीय सुरक्षा र अग्नि सुरक्षामा छलफल हुनेछ । चैत १४ गते स्मार्ट डिजाइनु थिममा वास्तु शास्त्र र इन्टेरियर डिजाइनका विषयमा २ वटा सेसन सञ्चालन हुनेछन् ।

त्यस्तै, चैत १५ गते स्मार्ट घर र आधुनिक जीवनशैली अन्तर्गत होम अटोमेशन र सोलार प्रविधिबारे छलफल हुनेछ भने अन्तिम दिन चैत १६ गते घरको आयु बढाउने उपायहरू, छत चुहिने समस्याको समाधान, धमिरा नियन्त्रण र पुराना भवनको रेट्रोफिटिङबारे ३ वटा सेसन सञ्चालन गरिनेछ ।

संगठनका अध्यक्ष राठीका अनुसार कोशी प्रदेशमै पहिलो पटक आयोजना गरिएको यस किसिमको प्रदर्शनीमा सहभागीहरूले निर्माण क्षेत्रका विज्ञहरूसँग निःशुल्क परामर्श समेत लिन पाउनेछन् ।

काठमाडौँ बाहिर पहिलो पटक बृहत् रूपमा आयोजना गरिएको यस प्रदर्शनीमा निर्माण क्षेत्रसँग सम्बन्धित ७० भन्दा बढी कम्पनीका स्टलहरू रहेका छन् । बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा आम सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया