झापा- फागु पूर्णिमा (होली) पर्वलाई लक्षित गरी बिक्रीका लागि राखिएका काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहको तस्बिर र नारा अंकित २६२ थान टि-सर्ट झापाका विभिन्न स्थानबाट प्रहरीले जफत गरेको छ।

निर्वाचन र राजनीतिक सन्देश प्रवाह गरी आचारसंहिता वा सुरक्षा संवेदनशीलतामा प्रभाव पार्न सक्ने भन्दै बिर्तामोड, मेचीनगर, दमक र बुद्धशान्ति क्षेत्रका पसलहरूबाट यी सामग्री बरामद गरिएको हो।

सबैभन्दा बढी टि-सर्ट बिर्तामोडबाट जफत गरिएको छ। प्रहरी निरीक्षक रुपेश राईको नेतृत्वमा खटिएको टोलीले बिर्तामोडको कृषिथोक चोक क्षेत्रका पसलहरूबाट ८७ थान र प्रहरी सहायक निरीक्षक सुशान्त पौडेलको टोलीले बिर्ताबजार हाट क्षेत्रबाट ६८ थान गरी कुल १५५ थान टि-सर्ट नियन्त्रणमा लिएको छ।

ती कपडाहरूमा “अब की बार, बालेन सरकार” र “यसपालिको होली बालेनसँग” जस्ता नाराहरू छापिएका थिए।

यसैगरी, मेचीनगरको काँकरभिट्टा र धुलाबारी बजारबाट पनि ठूलो परिमाणमा टि-सर्ट बरामद भएको छ। प्रहरी निरीक्षक बीरेन्द्र कोइरालाको टोलीले काँकरभिट्टाका विभिन्न स्टोरहरूबाट ४३ थान र प्रहरी निरीक्षक नकुलराज गौतमको टोलीले धुलाबारीबाट १७ थान टि-सर्ट जफत गरेको छ।

प्रहरीले आफ्नो सक्रियता दमक र बुद्धशान्तिमा पनि बढाएको थियो। दमक नगरपालिका नजिकैका पसलहरूबाट २१ थान र बुद्धशान्ति-३ स्थित बुधबारे बजारबाट २६ थान टि-सर्ट बरामद गरिएको छ।

होलीको बहानामा राजनीतिक प्रचारप्रसार गर्ने खालका सामग्रीले बजारमा अस्वस्थ प्रभाव पार्ने भन्दै प्रहरीले यस्ता सामग्री बिक्री वितरणमा कडाइ गरेको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया