विराटनगर / विराटनगरस्थित प्रतिष्ठित शैक्षिक संस्था प्रोफेसनल करियर एन्ड एजुकेसन प्रा.लि. ले चार्टर्ड एकाउन्टेन्सी (सीए) को विभिन्न तह सफलतापूर्वक उत्तीर्ण गरेका विद्यार्थीहरूलाई विशेष सम्मान तथा पुरस्कार वितरण गरेको छ।

आयोजित कार्यक्रममा सीए कोर्षको अन्तिम तह (क्याप–३) उत्तीर्ण गरी ‘सीए’ उपाधि हासिल गर्न सफल विद्यार्थी राशी गोयललाई विशेष सम्मान प्रदान गरिएको थियो। त्यसैगरी, सीए फाउन्डेसन (क्याप–१) तहमा देशभरबाट नवौं स्थान हासिल गर्न सफल विद्यार्थी रिद्मा कठायतलाई पुरस्कारसहित सम्मान गरिएको संस्थाले जनाएको छ।

उत्कृष्ट अंकका साथ विभिन्न तह पार गरेका अन्य विद्यार्थीहरूलाई पनि पदक तथा प्रशंसापत्र प्रदान गर्दै बधाई ज्ञापन गरिएको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष डा. मोहनकुमार सुवेदीले सफल विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै व्यावसायिक जीवनमा इमानदारी, अनुशासन र निरन्तर मेहनतको महत्वबारे प्रकाश पारे। उनले सीए जस्तो चुनौतीपूर्ण तथा गरिमामय उपाधि हासिल गर्नु व्यक्तिगत मात्र नभई परिवार, संस्था र राष्ट्रकै गौरवको विषय भएको उल्लेख गरे।

संस्थाका निर्देशक सीए किञ्जल पोखरेलले विद्यार्थीहरूलाई व्यावसायिक क्षेत्रमा सफल हुन आवश्यक सीप, नैतिक मूल्य तथा व्यावहारिक अनुभवको महत्वबारे सुझाव दिए। उनले सकारात्मक सोच र व्यवहारिक ज्ञानको संयोजनले करियरलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने बताए।

विराटनगरमा सीए शिक्षाको क्षेत्रमा लामो समयदेखि गुणस्तरीय योगदान दिँदै आएको उक्त संस्थाले प्रत्येक वर्ष उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै प्रोत्साहन प्रदान गर्दै आएको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शैक्षिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया