बिराटनगर । मोरङ क्षेत्र नं. ५ मा यसपटकको निर्वाचन असाध्यै प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ। विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति मतदाताको बढ्दो झुकावले यहाँको चुनावी माहोल नयाँ मोडमा पुगेको छ।टोल–टोल र गाउँ–गाउँमा पुग्दा मतदाताहरूले परिवर्तनको चाहना खुला रूपमा व्यक्त गरिरहेका छन्। जेन्जी युवादेखि ज्येष्ठ नागरिकसम्म ‘अब नयाँलाई मौका’ दिनुपर्ने स्वर सुनिन थालेको छ। रास्वपाको चुनाव चिह्न ‘घण्टी’ यतिबेला घर–आँगनमै चर्चाको विषय बनेको छ।

रास्वपाबाट उम्मेदवार बनेकी आशा झा लाई मतदाताले वैकल्पिक राजनीतिको प्रतिनिधिका रूपमा लिन थालेका छन्। चुनावी अभियानका क्रममा उनी आफैं मतदाताको घरदैलोमा पुगेर प्रत्यक्ष संवाद गरिरहेकी छन्। स्थानीयका अनुसार परम्परागत दलप्रति निराश बनेका मतदातासमेत यसपटक विकल्प खोज्दै रास्वपातर्फ आकर्षित भएका छन्।
“सबैलाई पटक–पटक अवसर दिइयो, अब नयाँ अनुहारलाई मौका दिनुपर्छ,” एक स्थानीय मतदाताले साझा सरोकार सँग भने, “काम गर्ने प्रतिबद्धता देखियो भने साथ दिन तयार छौं।”
उम्मेदवार झाका अनुसार सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीति आफ्नो मुख्य एजेन्डा हो। “जनताले अब भाषण होइन, परिणाम खोजेका छन्,” उनले भनिन्, “हामी आश्वासनभन्दा कार्यसम्पादनमा विश्वास गर्छौं।”

मोरङ–५ मा देखिएको यो माहोलले पुराना दलहरूलाई समेत रणनीति पुनरावलोकन गर्न बाध्य बनाएको छ। स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार यस क्षेत्रको चुनाव परिणाम यसपटक अप्रत्याशित हुनसक्ने आकलन गरिएको छ।निर्वाचन मिति नजिकिँदै जाँदा मोरङ–५ मा चुनावी सरगर्मी झन् चर्किंदै गएको छ। जनलहरको दिशा अन्ततः मतपेटिकाले तय गर्नेछ, तर यतिबेला भने ‘घण्टी’को आवाज निकै टाढासम्म सुनिन थालेको छ।

तपाईको प्रतिक्रिया