झापा- झापामा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा एक दर्जनभन्दा बढी उम्मेदवारहरू विरुद्ध उजुरी परेको छ। जिल्ला प्रशासन कार्यालय झापाका अनुसार निर्वाचन आयोगले प्रतिबन्ध लगाएका गतिविधिमा संलग्न भएको भन्दै १३ जना उम्मेदवारहरूमाथि कारबाहीको माग गरिएको हो।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी एवं आचारसंहिता अनुगमन अधिकृत तेजप्रकाश प्रसाईंका अनुसार १० जनामाथि मौखिक र ३ जनामाथि लिखित उजुरी परेको छ।
भद्रपुरमा आयोजित ‘निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा’ विषयक कार्यक्रममा बोल्दै उनले परेका सबै उजुरीमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आचारसंहिताको पूर्ण पालना अनिवार्य रहेको उनले स्पष्ट पारे।
यसैबीच, आगामी २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी झापामा विशेष मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले फागुन ३ गतेदेखि १७ गतेसम्म जिल्लाका सबै १३१ वटै वडामा अभियान चलाइने जानकारी दिए।
यो अभियानको मुख्य उद्देश्य मतदान प्रक्रियालाई सरल बनाउनु र बदर मतको संख्या न्यूनीकरण गर्नु रहेको छ। अभियानका लागि प्रत्येक वडामा एक जना स्वयंसेवक परिचालन गरिनेछ। ती स्वयंसेवकहरूले मतदाताको घरदैलोमा पुगेर नमुना मतपत्रको प्रयोगमार्फत सही तरिकाले मतदान गर्ने विधि, मताधिकारको महत्त्व र निर्वाचनको उद्देश्यबारे जानकारी दिनेछन्।
मतदाता शिक्षाले नागरिकको सहभागिता बढाउन र निर्वाचनलाई पारदर्शी बनाउन मद्दत पुग्ने विश्वास कार्यालयले लिएको छ। उक्त कार्यक्रममा मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेल र प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निर्वाचनको पारदर्शिता र सुरक्षा व्यवस्थाबारे चर्चा गरेका थिए।







