विराटनगरमा आयोजित घर निर्माण प्रदर्शनी–२०८२ मा पाँच स्टललाई ‘एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको छ। उद्योग संगठन मोरङद्वारा आयोजित उक्त प्रदर्शनीको समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट ठहरिएका स्टलहरूलाई सम्मान गरिएको हो।

सम्भावनायुक्त नयाँ व्यवसायी (स्टार्टअप) तर्फ हनुमन्ता रर्ग्स प्रालि, उत्कृष्ट स्टल डिजाइन तथा सजावटतर्फ मार्वल टेक्नोप्लास्ट प्रालि, नविन तथा अन्तरक्रियात्मक उत्पादन प्रस्तुतितर्फ विन्डोर सलुसन, दर्शकसँग उत्कृष्ट अन्तर्क्रिया तथा संलग्नतर्फ सी.पी. मार्वल्स र दिगो अभ्यास तथा स्थानीय मूल्य योगदानतर्फ बेम्बो आर्किड चेक्चरल सलुसनलाई अवार्ड प्रदान गरिएको हो।

चैत्र १२ देखि १६ गतेसम्म विराटनगरस्थित जैन भवन परिसरमा आयोजना गरिएको उक्त प्रदर्शनी काठमाडौँ बाहिर पहिलो पटक आयोजना गरिएको हो। प्रदर्शनीमा ८० भन्दा बढी उद्योगी स्टल सहभागी थिए। उपभोक्ताको अवलोकन, सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट गरिएको मतदानका आधारमा उत्कृष्ट पाँच स्टल छनोट गरिएको आयोजकले जनाएको छ। छनोट प्रक्रिया उद्योग संगठन मोरङका कार्यसमिति सदस्य किरण व्यासको संयोजकत्वमा गठित निर्णायक समितिले सम्पन्न गरेको थियो।

प्रदर्शनीमा सहभागी स्टलमध्ये लुनियाँ ग्रुपको नेमाटो टायल्स मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रूपमा सम्मानित भएको छ।

समापन समारोहमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेप, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी तथा उपाध्यक्ष एवं प्रदर्शनी संयोजक सुरेन्द्र गोल्छाले उत्कृष्ट स्टलका प्रतिनिधिहरूलाई पुरस्कार वितरण गरेका थिए।

यसै अवसरमा उद्योग संगठन मोरङका कार्यक्रम अधिकृत अशु चौहानलाई उत्कृष्ट कर्मचारीका रूपमा प्रशंसापत्र प्रदान गरिएको छ। अध्यक्ष राठीले प्रदर्शनी भव्य रूपमा सफल भएको उल्लेख गर्दै यसले स्वदेशी उत्पादनको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

समारोहमा मन्त्री लिङथेप र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले वर्तमान आर्थिक परिस्थितिमा स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्दै बजारलाई चलायमान बनाउन यस्तो प्रदर्शनी उपयोगी र सराहनीय रहेको धारणा व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया