विराटनगर — सीमा क्षेत्रलाई चोरीपैठारीको ‘हटस्पट’ बनाउने प्रयास भइरहँदा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्का टङ्कीसिनवारी, मोरङले माघ महिनामा मात्रै झण्डै ४६ लाख रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिई भन्सार बुझाएको छ।
गण मातहतका युनिटहरूले संयुक्त रूपमा सञ्चालन गरेको निगरानी र चेकजाँचका क्रममा ४५ लाख ६८ हजार ३४० रुपैयाँ मूल्य बराबरको सामान भन्सार दाखिला गरिएको हो। त्यसैगरी, १ लाख ९९ हजार रुपैयाँ बराबरको सामान नष्ट गरिएको जनाइएको छ।
सबैभन्दा बढी बरामद सशस्त्र प्रहरी बल नेपाल गुल्म रानी, विराटनगरले गरेको छ। उक्त गुल्मले मात्रै ३४ लाखभन्दा बढी मूल्यका चोरीपैठारीका सामान नियन्त्रणमा लिई विराटनगर भन्सार कार्यालय, रानीमा बुझाएको बताइएको छ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल बीओपी दरैया, विराटनगरले ४ लाख २३ हजार रुपैयाँभन्दा बढीका सामान भन्सार दाखिला गरेको छ भने आईसीपीभित्र कार्यरत बीओपी जहदा मुटाहाले १ लाख ४८ हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिई भन्सार प्रक्रिया टुंग्याएको जनाएको छ।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार रोक्न कडाइ बढाइएपछि बरामदको मात्रा बढेको सुरक्षा स्रोतको दाबी छ।





