विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित कारागार कार्यालयको परिसरभित्र रहेको बाल सुधार गृहमा प्रतिबन्धित लागुऔषध प्रवेश गराउने प्रयास भएको खुलासा भएपछि सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।

शुक्रबार दिउँसो करिब १:४० बजे बाल सुधार गृहमा रहेका ‘राई’ थरका एक किशोरलाई भेट्न पुगेका विराटनगर–६ निवासी १३ वर्षीय ‘मण्डल’ थरका किशोरलाई कारागार कार्यालयको मुख्य गेटमा चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा गरिएको खानतलासीमा किशोरले लगाएको पाइन्टको भित्री गोजीमा लुकाइछिपाई ल्याइएको १८ ग्राम गाँजा, नगद ५०० रुपैयाँ र एक थान मोबाइल फोन बरामद गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल, कारागार सुरक्षा बेस मोरङबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक तारानाथ गौतमको कमान्डमा रहेको टोलीले उक्त बरामदगी गरेको हो। पक्राउ परेका किशोरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरी कारागार सुरक्षा गार्ड कार्यालय मोरङमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चासोको विषय के भने, यसअघि बिहीवार मात्रै मोरङ कारागारभित्रै लागुऔषध तस्करीसँग सम्बन्धित अर्को घटना सार्वजनिक भइसकेको थियो। लगातार देखिन थालेका यस्ता घटनाले कारागार र बाल सुधार गृहजस्ता उच्च सुरक्षा घेराभित्र लागुऔषध कसरी प्रवेश गरिरहेको छ भन्ने प्रश्नलाई अझ गहिरो बनाएको छ।

यो घटना केवल संयोग हो त? कि सुधार गृह र कारागारभित्रै लागुऔषध पुर्‍याउने कुनै संगठित सञ्जाल सक्रिय छ? सुधार र संरक्षणका लागि बनाइएका संरचनाभित्र प्रतिबन्धित पदार्थ पुग्नु सामान्य लापरवाहीले मात्र सम्भव देखिँदैन। यसले सुरक्षा प्रणाली, अनुगमन प्रक्रिया र सम्बन्धित निकायबीचको समन्वयमै गम्भीर कमजोरी रहेको संकेत गर्छ।

मोरङ कारागार परिसरभित्र रहेको बाल सुधार गृहमा देखिएको यो घटना प्रतिनिधिमूलक मात्र हो कि देशभरका अन्य कारागार तथा सुधार गृहहरूमा पनि यस्तै अवस्था मौलाइरहेको छ? यदि यस्ता गतिविधि योजनाबद्ध रूपमा भइरहेका छन् भने यो स्थानीय समस्या नभई राष्ट्रिय स्तरको सुरक्षा र सामाजिक चिन्ताको विषय बन्न जान्छ।

यसकारण, यस्ता संवेदनशील संस्थाहरूमा लागुऔषधको पहुँच कसरी सम्भव भयो भन्ने विषयमा सम्बन्धित निकायले आत्मसमीक्षामै सीमित नरही कडा अनुगमन, आन्तरिक छानबिन र व्यापक अनुसन्धानलाई तिब्रता दिनुपर्ने आवश्यकता टड्कारो रूपमा देखिएको छ।

तपाईको प्रतिक्रिया