मोरङ – जिल्ला प्रशासन कार्यालय मोरङले रिजालको ग्यास उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको छ।
कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै बूढीगंगा गाउँपालिका–५ स्थित ग्यास उद्योगमा बुधबार गरिएको स्थलगत अनुगमनका क्रममा ग्यासका सिलिण्डरमा त्रुटि देखिएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार उद्योग परिसरमा रहेका १९ वटा सिलिण्डरमध्ये एउटा सिलिण्डरमा २ सय ४० ग्राम तौल कम रहेको र म्याद गुज्रिएका दुई वटा सिलिण्डरमा ग्यास भरी विक्री गर्न तयारी अवस्थामा राखिएको थियो।
ती सिलिण्डर सिल लगाइसकेको अवस्थामा भेटिएको उनले बताए। कार्यालयका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार म्याद गुज्रिएका दुवै सिलिण्डर सिल निकालेर नष्ट गरिएको थियो। उनले भने, ‘रिजाल ग्यासमा अनुगमन गर्दा त्रुटि देखिएको हो। यद्धपि, अत्यावश्यक सेवा अन्तर्गत रहेको ग्यास उद्योग अनुगमनका दिन ग्यास बुलेटको अभावमा सञ्चालनमा आएको थिएन ।’
त्यसैगरि, विराटनगर ३ स्थित कन्चनेश्वर ग्यास पसललाई पनि १५ हजार रुपैया जरिवाना गरिएको उनले बताए। अनुगमनको टोली पसल पुग्दा टोलीलाई जाँचबुझ निरीक्षणको कार्यमा सहयोग नगरेको उनको भनाई छ। यसअघि, गत सोमबार गरिएको अनुगमनका क्रममा कार्यालयले कोशी ग्यासलाई समेत २ लाख ९० हजार रुपैया जरिवाना गराएको थियो।







