काठमाडौँ, साउन २९ गते । एशियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा आगामी अगस्ट ३० देखि सेप्टेम्बर १२ (भदौ १४ देखि २७) सम्म मलेसियामा सञ्चालन हुने एसीसी प्रिमियर कपमा सहभागिता जनाउन जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार काठमाडौँमा बिदाइ गरिएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको कार्यक्रममा क्यानका सचिव पारस खड्कालगायतका पदाधिकारीले टोलीलाई सफलताको शुभकामना व्यक्त गर्दै बिदाइ गर्नुभयो। नेपाली टोली प्रतियोगिताअघि भारतको बेंगलुरुमा आयोजना हुने अभ्यास क्याम्पमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्दै छ।

एसिया कपको छनोटका रूपमा रहेको यस प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ, जसलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ‘ए’ मा साउदी अरेबिया, आयोजक मलेसिया, बहराइन र हङकङ रहेका छन्। यस्तै समूह ‘बी’ मा युएई, ओमान, सिङ्गापुर, कुवेत र कतार रहेका छन्।

नेपालले अगस्ट ३१ (भदौ १५) मा बहराइनसँग पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। त्यसैगरी नेपालले दोस्रो खेल सेप्टेम्बर ३ मा मलेसिया, तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबिया र चौथो खेल सेप्टेम्बर ८ मा हङकङसँग खेल्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्। एसीसीका अनुसार प्रतियोगिताको विजेता टोलीले सन् २०२७ मा बङ्गलादेशमा हुने एकदिवसीय एसिया कपमा स्थान बनाउने छ।

प्रतियोगिताका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ। नेपाली टोलीमा कप्तान लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इसान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहनुभएको छ।

तपाईको प्रतिक्रिया