काठमाडौँ, साउन २९ गते। स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमको नयाँ आबद्धता, बिमालेख नवीकरण तथा केवाईसी अद्यावधिक गर्ने कार्य अनलाइन प्रणालीमार्फत सुरु गरेको छ।

बोर्डले बिहीबारदेखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतका सेवा मार्फत विद्युतीय प्रणालीबाट उपलब्ध गराउन थालेको हो। बोर्डका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा मन्त्री निशा मेहताको उपस्थितिमा साउन २२ गते विद्युतीय प्रणालीको अन्तिम तयारी तथा कार्यान्वयनसम्बन्धी आवश्यक काम सम्पन्न गरिएको थियो।

स्वास्थ्य बिमा बोर्डबाट स्वीकृत ‘विद्युतीय माध्यमबाट स्वास्थ्य बिमामा आबद्धता तथा बिमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३’ बमोजिम प्रणाली कार्यान्वयनमा ल्याइएको बोर्डले जनाएको छ।

उक्त प्रणाली राष्ट्रिय परिचयपत्रसँग समेत अन्तरआबद्ध गरी तयार गरिएको छ।राष्ट्रिय परिचयपत्र नभएका परिवारका सदस्यले पनि ‘म्यानुअल’ रूपमा डिजिटल विवरण पेस गर्न सक्ने व्यवस्था गरिएको छ।

नयाँ आबद्धता तथा नवीकरणका लागि ई–सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत स्वास्थ्य बीमा प्रिमियम भुक्तानी गर्न सकिने बोर्डले जनाएको छ।

प्रणालीमार्फत व्यक्ति स्वयं वा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बिमालेख नवीकरण गर्न सक्नेछन्।

विगतमा स्वास्थ्य बिमा गरिसकेका परिवारले परिवारमूलिको स्वास्थ्य बिमा नम्बरमार्फत प्रणालीमा जोडिएर केवाईसी अद्यावधिक तथा नवीकरण गर्न सक्ने व्यवस्था गरिएको छ।

यसैगरी, कार्यालय वा सङ्गठित संस्थामार्फत बल्क इनरोलमेन्ट तथा बल्क रिन्युअल गर्न सकिने व्यवस्था गरिएको छ। जिल्ला तथा प्रदेशबाट प्रमाणीकरण र स्वीकृतिको व्यवस्था पनि प्रणालीमै गरिएको बोर्डले जनाएको छ।

स्वीकृति प्राप्त भएपछि डिजिटल स्वास्थ्य बिमा कार्ड जारी गरिनेछ।विद्युतीय प्रणाली कार्यान्वयनमा आएपछि स्वास्थ्य बिमामा आबद्धता तथा नवीकरण प्रक्रिया सहज हुनुका साथै सेवाग्राहीको समय बचत हुने र सेवा प्रवाहमा पारदर्शिता अभिवृद्धि हुने बोर्डको अपेक्षा छ।

केवाईसी अद्यावधिकमार्फत बिमितको पुरानो विवरण अद्यावधिक तथा तथ्याङ्कको शुद्धता अभिवृद्धि गर्नसमेत सहयोग पुग्ने बोर्डले जनाएको छ।

नेपाल सरकारले अघि सारेको डिजिटल सुशासनको अवधारणालाई स्वास्थ्य बिमा कार्यक्रममा क्रमशः पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रक्रियामा एचआइबि ई पोर्टलले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास बोर्डले व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया