विराटनगर– मोरङ जिल्लास्तरीय नगर आमन्त्रित आइटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि इन्द्रपुर बोर्डिङ स्कुलले हात पारेको छ। मोरङ जिल्ला आइटीएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा सम्पन्न प्रतियोगितामा इन्द्रपुरले ८ स्वर्ण, ६ रजत र ११ कांस्य पदक जित्दै पहिलो स्थान सुरक्षित गर्यो।
विराटनगर महानगरपालिका वडा नम्बर १० ले ७ स्वर्ण, ४ रजत र ३ कांस्यसहित दोस्रो स्थान हासिल गर्दा बेलबारी नगरपालिका वडा नम्बर १० डाँगिहाट ६ स्वर्ण, ३ रजत र ३ कांस्य पदकका साथ तेस्रो भयो।
जिल्ला प्रतियोगिताबाट छनोट भएका खेलाडीहरू प्रदेशस्तरीय प्रतिस्पर्धा हुँदै आगामी वैशाखमा काठमाडौंमा हुने आइटीएफ राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछन्। मोरङका विभिन्न डोजाङका १ सयभन्दा बढी खेलाडीले प्याटन र स्पाइरिङ विधामा प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए।
प्रतियोगिताका विजेता खेलाडीलाई विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, वडा नम्बर १० का वडाध्यक्ष अर्जुन गिरी, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, उपाध्यक्ष चतुरलाल चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए।





