विराटनगर । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा विवाहको भोज खाएपछि एकै गाउँका १०० भन्दा बढी मानिस बिरामी परेका छन्। स्थानीय वर्णबहादुर राईका छोरा किशोर राईको विवाहको भोज खाएका गाउँले र पाहुनाहरूमा ‘फुड पोइजनिङ’ को समस्या देखिएको हो।

गत माघ २१ गते विवाह सम्पन्न भएपछि राई परिवारले माघ २२ गते भोजको आयोजना गरेको थियो। भोजमा मासुभात, दाल, तरकारी र अचार खाएका झण्डै १५० जनामध्ये अधिकांशमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी इन्सपेक्टर राजु बिष्टले जानकारी दिए।

बिरामीहरूमा कडा ज्वरो आउने, शरीर काम्ने र झाडापखाला लाग्ने जस्ता लक्षण देखिएका छन्। बिरामीमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। ुफुड पोइजनुको असरले बेहुला र बेहुलीसमेत बिरामी परेका छन्।

गाउँमै शिविर सञ्चालन
बिरामीको संख्या अत्यधिक भएपछि स्थानीय सुजना राईको घर र निगालावास भञ्ज्याङमा अस्थायी शिविर खडा गरी उपचार सुरु गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काका अनुसार बिरामीको चाप बढेपछि जिल्ला स्वास्थ्य कार्यालयबाट थप औषधिसहितको जनशक्ति मगाइएको छ। अहिले चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रका ७ जना स्वास्थ्यकर्मीसहित गाउँपालिकाको आरआरटी टोली उपचारमा खटिएको छ।

भोज खाएर घर फर्किएका पाहुनाहरू समेत बिरामी परेका छन्। गाउँपालिका अध्यक्ष अरुणादेवी राईका अनुसार उदयपुर र काठमाडौँ पुगेका पाहुनाहरूले समेत बिरामी भएको जानकारी गराएका छन्। भोज खाएर काठमाडौँ फर्किएका एक जना बिरामीको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चिसापानीबाट इन्सपेक्टर विजय लामिछानेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ। यस्तै, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेल पनि स्वास्थ्यकर्मीको टोलीसहित घटनास्थलमा पुगेका छन्। अहिले बिरामीहरूलाई स्लाइन पानी र जीवनजल लगायतका औषधि दिएर उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया