उर्लाबारी। उर्लाबारी नगरपालिकामा विद्यालयकेन्द्रित नियमित खोप कार्यक्रमअन्तर्गत एचपीभी (HPV) खोप अभियान सञ्चालनको तयारी तीव्र बनेको छ। सोही तयारीस्वरूप पालिकास्तरीय खोप समन्वय समिति तथा सरोकारवालालाई लक्षित गरी एकदिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ।
नगरपालिकाका अनुसार यही माघ २७ गतेदेखि फागुन १ गतेसम्म तोकिएका विद्यालय तथा वडास्तरीय स्वास्थ्य संस्थामार्फत पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप प्रदान गरिनेछ। अभियानमा सहभागी सरोकारवालालाई पाठेघरको मुखको क्यान्सर, उक्त रोग निवारणका राष्ट्रिय रणनीति तथा एचपीभी खोप सेवा सञ्चालनसम्बन्धी विषयमा विस्तृत जानकारी गराइएको थियो।
गोष्ठीमा विज्ञहरूले पाठेघरको मुखको क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सरमध्ये एक भएकाले यसबाट हुने मृत्युदर न्यूनीकरण गर्न एचपीभी खोप प्रभावकारी माध्यम भएको बताए। एचपीभी भाइरसबाट हुने संक्रमणका कारण भविष्यमा क्यान्सरको जोखिम बढ्ने भएकाले किशोरी अवस्थामै खोप लगाउनु सुरक्षित र प्रभावकारी हुने जनाइएको छ। अभिमुखीकरणमा एचपीभी खोप पूर्ण रूपमा सुरक्षित, गुणस्तरीय र सरकारले निःशुल्क रूपमा उपलब्ध गराएको खोप भएको जानकारीसमेत दिइयो।
नगरपालिकाका जनस्वास्थ्य अधिकृत रेनुका काफ्लेका अनुसार नगरभित्रका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत विगतमा एचपीभी खोप छुट भएका कक्षा ७ देखि कक्षा १० सम्मका छात्रा, विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरी तथा विगतमा खोप छुट भएका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी अभियान सञ्चालन गरिनेछ। लक्षित समूहका किशोरीलाई खोप केन्द्रसम्म ल्याउन अभिभावक, शिक्षक तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उनले उल्लेख गरे।
नगरपालिकाले सबै सरोकारवालाको समन्वयमा अभियान सफल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
उर्लाबारीमा विद्यालय केन्द्रित एचपीभी खोप अभियानको तयारी





