विराटनगर । नेपाल-भारत सीमा सुरक्षा बैठकमा बेहाेस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेकाे निधन भएकाे छ ।

माेरङकाे बिराटचाेकमा नेपालकाे सशस्त्र प्रहरी बल र भारतकाे सीमा सुरक्षा बल (एसएसबी)का अधिकारी सम्मिलित डीआईजी तहकाे समकक्ष समन्वय बैठक चलिरहेका बेला शुक्रबार दिउँसो उनी बेहाेस भएर ढलेका थिए ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख घिमिरे बैठकमा सहभागी भइरहेकै बेला अचानक ढलेपछि उपचारका लागि मोरङकै बुढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा राति ८:२० बजेतिर चिकित्सकले मृत घाेषित गरिदिएका हुन् ।

सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनी पकली सुनसरीका डीआईजी कुमार न्यौपानेले घटनाको पुष्टि गरेका छन् । ‘बैठककै क्रममा उहाँ अचानक ढल्नु भएको थियाे,’ उनले भने, ´त्यसपछि तत्काल उपचारका लागि लागिएको भए पनि अस्पताल र चिकित्सककाे प्रयास सफल भएन ।’

उच्च रक्तचापका कारण उनी ढलेकाे र बचाउन नसकिएकाे अस्पतालले जनाएको छ । बेहोस भएर ढल्ने क्रममा एसपी घिमिरेकाे जिब्रो काटिएको थियो । स्वास्थ्य अवस्था झन् बिग्रिँदै गएपछि सघन उपचारका लागि भेन्टिलेटरको सहायता लिइएको थियाे । उनकाे शव अस्पतालकाे आकस्मिक कक्षमा राखिएको छ । आफन्त र परिवारका सदस्यलाई खबर भइसकेको अस्पतालले जनाएको छ ।

नम्बर ३ वाहिनी गाढीमाई मुख्यालय मकवानपुरमा सरुवा भएका घिमिरे शनिबार त्यता जाने तयारीमा थिए । तर, माेरङबाट बिदा हुनुअघि नै उनकाे निधन भएको हाे ।

तपाईको प्रतिक्रिया