विराटनगर/मोरङ
कारागारभित्रै लागुऔषधको सञ्जाल चलिरहेको आशंकालाई पुष्टि गर्ने घटना मोरङ कारागारमा सार्वजनिक भएको छ। इन्चार्जको जिम्मेवारी सम्हालेको पहिलो दिनमै सशस्त्र प्रहरी निरीक्षक तारानाथ गौतमले कडा हस्तक्षेप गर्दै कारागारभित्र ड्रग्स भित्र्याउने प्रयास विफल पारेका छन ।
माघ २२ गते बिहीबार साँझ करिब ५ बजे बाल सुधार गृहमा ‘भेटघाट’ का लागि आएको एक युवकको गतिविधि शंकास्पद देखिएपछि मुख्य गेटमै सशस्त्र प्रहरीको टोलीले कडाइका साथ चेकजाँच गरेको थियो। सो क्रममा उर्लाबारी नगरपालिका–७ का १९ वर्षीय विष्णु पौदारको साथबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद भयो।
इन्स्पेक्टर गौतमको नेतृत्वमा खटिएको टोलीले पौदारको पाइन्ट र ज्याकेटको गोजीबाट २५० गोटा सेतो ट्याब्लेट, २६६ गोटा हरियो क्याप्सुल, नगद १५ हजार ६ सय रुपैयाँ, दुई थान मोबाइल फोन र एक थान अतिरिक्त सिम कार्ड फेला पारेको हो। बरामद सामग्रीले कारागारभित्र संगठित रूपमा लागुऔषध आपूर्ति भइरहेको हुन सक्ने आशंकालाई थप बल दिएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार पौदार बाल सुधार गृहमा रहेका विवेक पराजुलीलाई भेट्न आएको बहानामा लागुऔषध भित्र्याउन खोज्दै थियो। तर प्रश्न उठेको छ—यति ठूलो परिमाणको लागुऔषध कारागारभित्र कसरी, कसका लागि र कति समयदेखि प्रवेश गरिरहेको थियो?
सीमावर्ती क्षेत्रमा लामो समय काम गरेका इन्स्पेक्टर गौतम लागुऔषध कारोबारविरुद्ध ‘निर्दयी’ अधिकारीका रूपमा चिनिन्छन्। जिम्मेवारी सम्हालेको पहिलो दिनमै गरिएको यो कारबाहीलाई कारागारभित्र मौलाउँदै गएको ड्रग्स नेटवर्कमाथिको संकेतपूर्ण प्रहारका रूपमा हेरिएको छ। स्रोतका अनुसार गौतमले कारागारभित्र बसेरै लागुऔषधको कारोबार चलाउने गिरोहलाई तह लगाउने तयारी थालेका छन्।
पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
पहिलो दिनमै देखिएको यो ‘एक्सन’ ले अब मोरङ कारागारभित्रको पुरानो चलन–चल्ती कति उजागर हुन्छ भन्ने चासो बढाएको छ।





