विराटनगर । भारतबाट सुरक्षाकर्मीको आँखा छलेर इलेक्ट्रोनिक चिप्स तस्करी हुने गरेको पाइएको छ । अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको ठूलो परिमाणको चिप्स प्रहरीले विराटनगरमा बरामद गरेको छ ।

विराटनगर महानगरपालिका–१७ मटेरुवा इस्लामपुरबाट माघ १९ गते चिप्स बरामद भएको हो । विशेष सूचनाका आधारमा चिप्स नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय रानी र अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको टोली खटिएको थियो ।

मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार भारतबाट नेपालतर्फ ल्याइँदै गरिएको २ हजार ३ सय ३० थान चिप्स बरामद गरिएको छ । उक्त चिप्स एउटाको मूल्य २ सय ५० रूपैयाँभन्दा बढी पर्ने प्रहरीको भनाइ छ ।

डीएसपी लामिछानेले भारतको जोगवनीबाट ल्याउँदै गर्दा ५ लाख ८२ हजार ५ सय रूपैयाँभन्दा बढीको चिप्स नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए । उनका अनुसार उक्त चिप्स लेक्ट्रोनिक डिभाइसको ब्राण्ड परिवर्तन गर्न प्रयोग हुने गरेको पाइएको छ ।

चिप्सको प्रयोग गरेर मोबाइल, ट्याबलेट, ल्यापटप तथा अन्य इलेक्ट्रोनिक उपकरणको वास्तविक ब्राण्ड परिवर्तन गर्ने गरिएको पत्ता लागेको छ । ब्राण्ड परिवर्तन गरेर इलेक्ट्रोनिक उपकरण महँगो मूल्यमा बिक्री गर्ने गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

बाहिरबाट हेर्दा सानो र सामान्य देखिए पनि यस्ता चिप्सको दुरुपयोग भएमा उपभोक्ता ठगी, नक्कली ब्राण्डको कारोबार र ठूलो मात्रामा राजस्व चुहावट हुने जोखिम रहेको प्रहरीको भनाइ छ ।

अर्को महत्वपूर्ण कुरा चिप्स सामान्य हिसाबले बोरामा प्याक गरेर नेपाल भित्राइएको थियो । सुरुमा प्रहरीले सामान्य कबाडीका सामान होलान् भन्ने ठानेको थियो । तर, चिप्सले भरिएको बोरा फालेर ओसारपसारमा संलग्न फरार भएपछि घटना शंकास्पद बन्यो ।

नियन्त्रणमा लिएर प्राविधिक पक्ष बुझ्न कबाडी भनिएको सामान इलेक्ट्रोनिक उपकरणको वास्तविक ब्राण्ड परिवर्तन गर्न प्रयोग हुने चिप्स रहेको पत्ता लागेको हो । नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई छल्न सजिलो होस् भनेर कबाडीका सामान ओसारपसार गरेजस्तो देखाएर चिप्सको अवैध ओसारपसार गर्ने गरिएको डीएसपी लामिछानेको भनाइ छ ।

उनका अनुसार चिप्स तस्करीमा संलग्नको पहिचान हुन सकिरहेको छैन । पहिचानको प्रयास गर्दै खोजी तीव्र पारिएको जानकारी लामिछानेले दिए । विराटनगरका कुनै व्यापारीले चिप्स तस्करी गराएको हुनसक्ने प्रहरीको आशंका छ ।

यस विषयमा इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार यस्ता महत्वपूर्ण तर, सजिलै लुकाउन सकिने सामान भन्सार छली गरेर भित्राउने प्रवृत्ति पछिल्लो समय बढ्दो छ ।

-मुलुकी खवरको सहयोगमा

तपाईको प्रतिक्रिया