काठमाण्डाै – राष्ट्रिय लिग फुटबलमा चित्लाङ एफसी र काँक्रेबिहार क्लबबीचको खेल बराबरीमा सकिएको छ ।
ललितपुरमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो खेलमा दुवै टोलीले २–२ गोल गरे । चित्लाङका चेतनकुमार थारू र अरोन थापाले गोल गरे । काँक्रेबिहारका भरत नागल र सन्दीप देउवाले गोल गरे ।
यो बराबरीसँगै दुवै टोलीले १–१ अङ्क बाँडेका छन् । चित्लाङ ६ खेलमा ६ अङ्कसहित तालिकाको ११औँ स्थानमा छ । लगातार ५ खेल हारेको काँक्रेबिहारले आज पहिलो अङ्क जोडेको हो । काँक्रेबिहार तालिकाको १६औँ स्थानमा छ ।
यस्तै आजै एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले फ्रेन्ड्स क्लबलाई २–० गोलले हराएको छ । प्लानिङ ब्वाइजका फागुराम थारूले २ गोल गरे ।
यो जीतसँगै प्लानिङ ब्वाइज ६ खेलमा १३ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । फ्रेन्ड्स क्लब ६ खेलमा ४ अङ्कसहित तालिकाको १४औँ स्थानमा छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।
राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ ।





