विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारी । आज बेसक्याम्प, भोलि रातिदेखि आरोहण यात्रा र काठमाडौँबाट हिँडेको चार दिनमै पिक समिट। न त लामो तालिम, न त भव्य तयारी र खर्च।
किपा ल्हामु शेर्पासँग थियो त केवल एउटा कुरा – संसार जित्ने ठूलो सपना।
तीन सन्तानकी आमा, गृहिणी र होटल सञ्चालकबाट आफ्नो पहिचान बदलेर संसारको शिरबाट विश्वलाई चिहाउने साहसी नेपालकी छोरी किपा ल्हामु शेर्पा हिमालको नाम सुन्नासाथ हुरुक्कै हुन्छिन्।
संखुवासभाको मकालु गाउँपालिका–२ मा जन्मिएकी किपा ल्हामुले २८ वर्षको उमेरमा तीन सन्तानकी आमा हुँदाहुँदै मकालु हिमालको सफल आरोहण गर्दै नेपालकै कान्छी महिला मकालु आरोहीको कीर्तिमान कायम गरेकी छन्।
तीन दिनमै मनास्लु समिट, १८ सदस्यीय महिला टोलीमा सहभागी भई ५ हजार ८ सय ९६ मिटर अग्लो हिमालको सफल आरोहण, रक क्लाइम्बिङ तथा हिमाल आरोहणसम्बन्धी तालिम।
यी सबैले उनको साहस र क्षमता पुष्टि गर्छन्।
उनले तीन दिनमै मनास्लु हिमालको सफल आरोहण गरेर अर्को उपलब्धि थपेकी छन्।
भर्खरै खुम्बु क्लाइम्बिङ सेन्टरद्वारा सोलुखुम्बुको फोर्त्सेमा सन् २०२६ जनवरी १५ देखि २९ सम्म सञ्चालन भएको तालिममा उनले हिमाल आरोहण, रक क्लाइम्बिङ र आइस क्लाइम्बिङसम्बन्धी प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेकी हुन्।





